
धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–मालिङ्गामा अवस्थित ‘होलिडे डेस्टिनेसन’ त्रिशुली रिभरसाइड रिसोर्ट अहिले आन्तरिक तथा बाह्य पर्यटकहरूको भीडले दैनिक गुलजार बन्न थालेको छ । काठमाडौंबाट करिब ७० किलोमिटरको दूरीमा रहेको यो स्थान छोटो समयमै एड्भेन्चर र आराम दुबै खोज्नेहरूको रोजाइमा परेको छ ।
शान्त त्रिशुली नदीमाथि हावामा झुन्डिएर साइकल चलाउने कल्पना गर्नुभएको छ ? यहाँ त्यो कल्पना मात्र होइन, वास्तविक अनुभव हो । नेपालमै पहिलो पटक सञ्चालनमा आएको स्काई रोप साइक्लिङले नदी पार गर्दै आकाशमै साइकल चलाउने अनौठो अवसर दिन्छ । अझ रोचक कुरा-यहाँ दुईवटा ट्रयाक छन्: एउटा एकल साहसीका लागि, अर्को जोडीले सँगै रमाउन मिल्ने । प्रेमी-प्रेमिका, साथीभाइ वा परिवार-सबैका लागि सम्झनलायक अनुभव !
यससँगै, त्रिशुली नदीमाथि चिच्याउँदै उड्ने जिपलाइन पनि त्यत्तिकै आकर्षक छ । करिब २०० मिटर लामो जिपलाइनले केही सेकेन्डमै एड्रेनालिनको उच्चतम अनुभव दिलाउँछ । त्यसमाथि, नदीमै र्याफ्टिङको मजा लिन पाउनु भनेको एउटै ठाउँमा धेरै साहसिक गतिविधि अनुभव गर्नु जस्तै हो ।

स्थानीय उद्धव कडेंलद्वारा संचालित यो रिसोर्ट केवल साहसिक खेलमै सीमित छैन । जिपलाइनको ल्यान्डिङ क्षेत्रमै २५ वटा भिल्ला, टेन्टेड क्याम्प, स्पा, साउना, स्टिम र स्विमिङ पुल जस्ता सुविधाले आरामदायी बसाइको पनि उत्तिकै व्यवस्था गरेको छ ।
पहिले विदेशी पर्यटकलाई लक्षित गरेर सुरु गरिएको यो रिसोर्ट अहिले नेपाली पर्यटकहरूको पनि पहिलो रोजाइ बन्दै गएको छ । परिवारसँग शान्त समय बिताउन चाहनेदेखि एड्भेन्चर खोज्ने युवासम्म-सबैलाई तान्ने शक्ति यस स्थानमा छ ।
