
काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेसँगै कडाइका साथ कानून कार्यान्वयनको संकेत दिएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवासबाटै र पूर्व गृहमन्त्री कांग्रेस नेता रमेश लेखलाई पनि निवासबाटै प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काको टोली भक्तपुर प्रहरीका विभिन्न युनिटसहित ओली निवास गुण्डु पुगेका थिए ।
पूर्वगृहमन्त्री रमेश लेखकलाई काठमाडौं प्रहरी परिसर भद्रकाली लगिएको छ । उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरी भद्रकाली पुर्याएको हो ।
गृहमन्त्री सुदनले सुरक्षा निकायलाई कानून उल्लंघन गर्ने जो–कोहीलाई नछाड्न स्पष्ट निर्देशन दिएका छन् । “कानून सबैका लागि बराबर हो, कसैले पनि उन्मुक्ति पाउँदैन,” उनले भनेका छन् ।
यस घटनालाई सरकारले ‘कानूनको शासन मजबुत बनाउने अभियान’ को रूपमा लिएको छ । पछिल्ला दिनहरूमा देशभर अपराध नियन्त्रण, भ्रष्टाचार विरुद्ध कारबाही तथा शान्ति–सुरक्षा कायम गर्न मन्त्रालयले सक्रियता बढाएको छ ।
उता, पक्राउ परेकाहरूका समर्थकहरूले भने निष्पक्ष अनुसन्धानको माग गर्दै कानुनी प्रक्रियाको सम्मान गर्न आग्रह गरेका छन् ।
यस विषयमा प्रहरीले विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको छ भने थप अनुसन्धान जारी रहेको जनाएको छ ।
