
धादिङ । उत्तरी धादिङका विभिन्न स्थानीय तहका नागरिकलाई सहज आवतजावत हुनेगरी धादिङबेसी बसपार्क क्षेत्रमा पक्की पुल निर्माण प्रक्रिया सुरु गरिएको छ । नीलकण्ठ नगरपालिका सहित पाँच वटा पालिकाका बासिन्दा यसबाट प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ३ र १२ लाई जोड्ने साँकोष–तिप्लिङ सडक (दामन पाख्रिन मार्ग) अन्तर्गत पुछार बजारमा उक्त पुल निर्माण गरिने भएको हो । करिब साढे चार करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित बहुवर्षीय टेण्डर आह्वान गरिएको जनाइएको छ ।
बागमती प्रदेश सरकारले करिब ३ करोड ७८ लाख रुपैयाँ लागतमा पुल निर्माण गर्ने योजना अघि बढाएको हो । चालु आर्थिक वर्षका लागि ३५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
लामो समयदेखि पुलको अभावका कारण स्थानीय बासिन्दाले आवतजावतमा कठिनाइ भोग्दै आएका थिए । पुल निर्माण सुरु भएसँगै यातायात सहज हुनुका साथै स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
