
धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा धादिङको गल्छी गाउँपालिका–६ बैरेनीस्थित बैरेनी अस्पतालमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर आयोजना हुने भएको छ ।
बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रका नागरिकसहित स्वास्थ्यसम्बन्धी समस्या भएका सर्वसाधारणलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गर्न लागिएको हो ।
शिविरमा जनरल फिजिसियन, महिला रोग विशेषज्ञ, मानसिक रोग विशेषज्ञ तथा हाडजोर्नी विशेषज्ञबाट निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा उपलब्ध हुने आयोजकले जनाएको छ ।
शिविर भदौ २७ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म र भदौ २८ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ ।
शिविर बैरेनी अस्पताल, गल्छी गाउँपालिका–६, धादिङमा आयोजना हुनेछ ।
निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा तथा ब्लड डोनर्स अफ अमेरिकाको सहकार्यमा हुन लागेको हो । शिविरका लागि धादिङ समाज यूके र धादिङ सेवा समाज कतारले विशेष सहयोग गरेका छन् भने गल्छी गाउँपालिका स्थानीय सहयोगीका रूपमा रहेको छ ।
आयोजकले स्वास्थ्यसम्बन्धी समस्या भएका नागरिकलाई शिविरमा सहभागी भई उपलब्ध विशेषज्ञ स्वास्थ्य सेवाको लाभ लिन अनुरोध गरेको छ।
