
धादिङ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ का बेपत्ता भएका दुई जनाका परिवारलाई पर्यटन व्यवसायी तथा समाजसेवी कमलप्रसाद रिमालले १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
२०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीका कारण त्रिपुरासुन्दरी गाउँपालिका–४ निवासी राजु राना मगर र गोविन्द थापा मगर अझै बेपत्ता छन् । बाढीले परिवारका सदस्य गुमाउने अवस्थामा पुगेका उनीहरूका परिवारलाई तत्काल राहत तथा सहयोग पुर्याउने उद्देश्यले रिमालले आर्थिक सहयोग गरेका हुन् ।
रिमालले बेपत्ताद्वयका परिवारलाई जनही ७५ हजार रुपैयाँका दरले जम्मा १ लाख ५० हजार रुपैयाँ राहतस्वरूप उपलब्ध गराएका हुन् । उक्त रकम वडा अध्यक्ष कपिलदेव सिंखडालाई QR मार्फत हस्तान्तरण गरिएको रिमालले जानकारी दिए ।
विपद्का बेला पीडित परिवारलाई साथ दिनुपर्ने मानवीय दायित्वलाई आत्मसात् गर्दै रिमालले व्यक्तिगत रूपमा सहयोग गरेका हुन् । आर्थिक सहयोगसँगै बाढी आएको समयदेखि नै उनी उद्धार तथा राहतका विभिन्न गतिविधिमा सक्रिय रूपमा खटिँदै आएका छन् ।
पर्यटन व्यवसायमा आबद्ध रिमालले व्यवसायबाट प्राप्त आम्दानीलाई सामाजिक सेवामा समेत जोड्दै आएका छन् । विपद्का बेला पीडितको घरदैलोमा पुगेर सहयोग गर्ने, राहत सामग्री जुटाउने तथा प्रभावितलाई आवश्यक सहयोग पुर्याउने उनको सक्रियताले स्थानीयस्तरमा उनको सामाजिक छवि थप बलियो बनाएको छ ।
विशेषगरी विपत्तिको समयमा सरकारी तथा संस्थागत सहयोगको प्रतीक्षा मात्र नगरी आफ्नो व्यक्तिगत तर्फबाट समेत पीडित परिवारलाई सहयोग गर्नु रिमालको मानवीय संवेदनशीलताको उदाहरण बनेको छ ।
