धादिङमा २ हजारभन्दा बढी निर्वाचन प्रहरीलाई प्रमाणपत्रसहित बिदाइ

Avatar photo
Dhadingpost
फाल्गुन २९, २०८२

धादिङ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खटाइएका निर्वाचन प्रहरीलाई धादिङमा औपचारिक रूपमा बिदाइ गरिएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङ, इलाका प्रहरी कार्यालय गजुरी तथा इलाका प्रहरी कार्यालय खानीखोलाले तालिम प्राप्त निर्वाचन प्रहरीलाई प्रमाणपत्र प्रदान गर्दै बिहीबार सम्मानसहित बिदाइ गरेका हुन्।

उक्त अवसरमा नेपाल प्रहरीतर्फ २ हजार २५ जना र सशस्त्र प्रहरीतर्फ ७९ जना गरी कुल २ हजार १०४ जना निर्वाचन प्रहरीलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

निर्वाचनका क्रममा देशभर खटाइएका निर्वाचन प्रहरीलाई एकै दिन बिदाइ गर्ने निर्देशनअनुसार धादिङमा पनि तालिम लिएका प्रहरीलाई औपचारिक कार्यक्रममार्फत बिदाइ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बिदाइ कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) सुमित खड्काले निर्वाचन प्रहरीलाई टीका–अबिर लगाएर प्रमाणपत्र प्रदान गर्दै धन्यवाद व्यक्त गरेका थिए।