
धादिङ । धादिङको गङ्गाजमुना गाउँपालिका–५ मा रहेको हिलेपोखरी आधारभूत विद्यालयले आगामी चैत १ गते विशेष कार्यक्रमका साथ ३६ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाउने भएको छ ।
विद्यालयका शिक्षक दामोदर भट्टका अनुसार वार्षिक उत्सवको अवसरमा विद्यालयस्तरीय विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । सोही दिन विद्यार्थीहरूको प्रतिभा प्रस्तुत गर्ने सांस्कृतिक कार्यक्रमसहित विशेष समारोह आयोजना गरी स्थापना दिवस मनाइने तयारी गरिएको छ ।
यस्तो छ विद्यालयको विगत
हिलेपोखरी आधारभूत विद्यालय साविक फूलखर्क गाविस–६ मा अवस्थित छ । यस क्षेत्रमा प्राकृतिक पानीको स्रोत नभएकाले अन्यत्रबाट पानी ल्याएर पोखरी निर्माण गरिएको थियो । सोही पोखरीको नामबाट विद्यालयको नाम “हिलेपोखरी” राखिएको हो ।
विद्यालयको इतिहास वि.सं. २०४५ सालबाट सुरु हुन्छ । त्यस समयमा स्थानीय समाजसेवी भोजराज रेग्मीको सक्रियतामा एकीकृत ग्रामीण विकास योजनाबाट प्राप्त २० हजार रुपैयाँको सहयोगमा सामुदायिक भवन निर्माण गरिएको थियो । सोही भवनमा विद्यालय सञ्चालन गर्ने उद्देश्यले स्वर्गीय भिमबहादुर अधिकारीको अध्यक्षतामा, धुव्रकुमार वानियाँ सचिव र उत्तरबहादुर भूजेल कोषाध्यक्ष रहने गरी विद्यालय सञ्चालन समिति गठन गरिएको थियो ।
स्थानीय बासिन्दाबाट चन्दा संकलन गरी विद्यालय सञ्चालनको थालनी गरिएको थियो । प्रारम्भिक चरणमा मरौटी निवासी बालकृष्ण थापालाई पारिश्रमिक दिने गरी स्वयंसेवक शिक्षकका रूपमा नियुक्त गरेर पठनपाठन सुरु गरिएको थियो ।
वि.सं. २०४६ साल चैत १ गते तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट एक दरबन्दीसहित विद्यालय स्वीकृत भएको थियो । त्यसपछि विद्यालय व्यवस्थापन समितिले जनश्रमदानमार्फत तीन कोठे भवन निर्माण गरी नियमित पठनपाठन सञ्चालन गरेको थियो ।
विभिन्न व्यक्तिको सहयोग
विद्यालयको विकासका लागि विभिन्न समयहरूमा स्थानीय समाजसेवी तथा शिक्षाप्रेमीहरूले आर्थिक तथा भौतिक सहयोग गरेका छन् । पूर्व शिक्षक तथा समाजसेवी रविन्द्र श्रेष्ठले सहयोग गरेका थिए ।
त्यस्तै बासु अधिकारी, रञ्जन अधिकारी, किशोर अधिकारी, सन्तोष अधिकारी, नवराज अधिकारी, हरि अधिकारी, विकास गुरुङ लगायतले निजी स्रोत शिक्षकको तलब भत्ता तथा अन्य व्यवस्थापनका लागि आर्थिक सहयोग गरेका थिए ।
विद्यालयको भौतिक पूर्वाधार विकासमा वडा कार्यालय, पर्यटन व्यवसायी ज्योती अधिकारी, श्रीराम अधिकारी, भुपेन्द्र अधिकारी तथा Hands in Nepal संस्थाले सहयोग पुर्याएका छन् ।
यस्तो छ वर्तमान अवस्था
हाल विद्यालयमा ४ वटा पक्की भवन र १३ वटा कक्षा कोठा रहेका छन् । विद्यालय परिसरमा शौचालय तथा खानेपानीको राम्रो व्यवस्था गरिएको छ । विद्यालयमा हाल २ जना प्राथमिक शिक्षक, २ जना राहत शिक्षक, २ जना निमावि राहत शिक्षक, १ जना संघीय दरबन्दी शिक्षक, बालसहयोगी र कार्यालय सहयोगीसहित करिब ११ जना कर्मचारी कार्यरत छन् ।
प्रदेश सरकारको विद्यार्थी व्यवस्थापन कार्यक्रम तथा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ICT ल्याब व्यवस्थापनको काम पनि सञ्चालन भइरहेको विद्यालयले जनाएको छ ।
शैक्षिक सुधारका प्रयास
विद्यालयले पछिल्ला वर्षहरूमा बालमैत्री वातावरण निर्माण, भित्ते लेखन, बुक कर्नर व्यवस्था, नियमित अभिभावक भेला, सामाजिक परीक्षण, छात्रवृत्ति वितरण, सुधारात्मक कक्षा सञ्चालन, इन्टरनेट सेवा, शैक्षिक सहायताकोष स्थापना, अतिरिक्त क्रियाकलाप तथा शैक्षिक भ्रमण जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
त्यस्तै विद्यालयले आफ्नै वेबसाइट र फेसबुक पेज सञ्चालनमा ल्याई सूचना प्रवाहलाई व्यवस्थित बनाएको छ ।
विद्यालय प्रशासनका अनुसार यस विद्यालयलाई यहाँसम्म ल्याउन संस्थापक, समाजसेवी, शिक्षक, अभिभावक, चन्दादाता, विद्यार्थी तथा विभिन्न संघसंस्थाको महत्वपूर्ण योगदान रहेको छ । उनीहरूप्रति विद्यालयले आभार व्यक्त गरेको छ ।
चैत १ गते हुने ३६ औँ वार्षिक उत्सवमा विद्यालयको उपलब्धि, विद्यार्थीहरूको प्रतिभा र आगामी योजनाबारे जानकारी गराइने कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।
