
धादिङ । धादिङ जिल्लाका दुबै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता कायम गरेका छन् । धादिङ क्षेत्र नम्बर १ मा रास्वपाकी उम्मेदवार आशिका तामाङ फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेकी छन् भने क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार बोधनारायण श्रेष्ठ पनि अग्रतामा रहेका छन् ।
मतगणना सुरु भएदेखि नै धादिङ–१ मा आशिका तामाङले निरन्तर अग्रता कायम गर्दै आएकी छन् । हालसम्मको मतपरिणाम अनुसार घण्टी चिन्हकी उम्मेदवार आशिका तामाङले १७,६३० मत प्राप्त गरेकी छन् भने उनका निकटतम प्रतिस्पर्धी सूर्य चिन्हका भूमी त्रिपाठी ले ७,१५२ मत प्राप्त गर्दै पछ्याइरहेका छन् ।
यस्तै धादिङ–२ मा सुरुआती चरणमा प्रतिस्पर्धा कडा भए पनि त्रिपुरासुन्दरी गाउँपालिकाको मतगणना पछि रास्वपाका उम्मेदवार बोधनारायण श्रेष्ठले अग्रता बनाएका हुन् । हालसम्म घण्टी चिन्हका श्रेष्ठले ८,८२४ मत प्राप्त गरेका छन् भने रुख चिन्हका रमेश प्रसाद धमला ले ७,७३७ मत ल्याएर पछ्याइरहेका छन् ।
मतगणनाको अवस्था अनुसार धादिङ–१ मा गल्छी र थाक्रे गाउँपालिकाको मतगणना सम्पन्न भइसकेको छ भने गजुरी गाउँपालिकाको मतगणना जारी रहेको छ । धादिङ–२ मा भने रुबीभ्याली, खनियाबास, गंगाजमुना र त्रिपुरासुन्दरी गाउँपालिकाको मतगणना सकिएको छ भने नेत्रावती डबजोङ गाउँपालिका को मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
धादिङ जिल्लामा कुल २ लाख ७५ हजार २८० मतदाता रहेका छन् । तीमध्ये १ लाख ५८ हजार ३८४ मत खसेको छ, जुन कुल मतदाताको ५७.५३ प्रतिशत हो ।
क्षेत्र नम्बर १ मा कुल १ लाख ३६ हजार ६८६ मतदाता रहेकोमा ८५ हजार ३३३ मत खसेको छ भने क्षेत्र नम्बर २ मा १ लाख ३८ हजार ५९४ मतदाता रहेकोमा ७३ हजार ०५१ मत खसेको छ ।
जिल्लाका दुबै क्षेत्रमा मतगणना जारी रहेको छ।
