
धादिङ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले धादिङ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार धनबहादुर घलेले त्रिपुरासुन्दरी गाउँपालिका–२ अन्तर्गतको सल्यानटार क्षेत्रका विभिन्न बस्तीहरूमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्।
मतदातासँगको भेटघाटका क्रममा उम्मेदवार घलेले बुढीगण्डकी जलविद्युत् परियोजनाबाट विस्थापित नागरिकहरूको पुनर्स्थापना, व्यवस्थित बस्ती विकास, सडक, खानेपानी, शिक्षा र स्वास्थ्य सेवाको सुदृढीकरणलाई आफ्नो मुख्य प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
घलेले सल्यानटारस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरउन्नति गरी सुविधासम्पन्न अस्पतालमा रूपान्तरण गर्न पहल गर्ने बताए। साथै उनले बुढीगण्डकी जलविद्युत् परियोजना तत्काल सुरु गर्न दबाब दिने, परियोजनाबाट प्रभावित नागरिकहरूको पुनर्स्थापना तथा बस्ती विकासका लागि ठोस योजना ल्याउने प्रतिवद्धता जनाए।
उनले त्रिपुरासुन्दरी–२ अन्तर्गतका छापगाउँ, बेलगाउँ, बौसा गाउँ, ठूलो गाउँ, सानागाउँ, देबिथान, सिकटार लगायतका बस्तीहरूमा पुगेर मतदाताका गुनासा, सुझाव र अपेक्षा सुन्दै आगामी दिनमा त्यसलाई नीति तथा कार्यक्रममार्फत सम्बोधन गर्ने विश्वास दिलाएका छन्।
स्थानीयस्तरमै पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै घलेले विकास र स्थायित्वका लागि एमालेको नेतृत्व आवश्यक रहेको सन्देश प्रवाह गरिरहेका छन्।
