
धादिङ । गल्छी गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि द राइजिङ भिलेज इङ्गलिस स्कुल ले जितेको छ। गत वर्ष पाँचौँ संस्करणको विजेता बनेको द राइजिङ भिलेजले यस वर्ष पनि उत्कृष्ट प्रदर्शन गर्दै लगातार दोस्रोपटक च्याम्पियन बन्न सफल भएको हो।
गत वर्ष सम्पन्न पाँचौँ राष्ट्रपति रनिङ शिल्डमा ७ स्वर्ण, ३ रजत र ५ कास्य पदकसहित उपाधि जितेको द राइजिङ भिलेजले यस वर्षको छैटौँ संस्करणमा झनै प्रभावशाली खेल प्रदर्शन गर्दै ९ स्वर्ण, ६ रजत र ३ कास्य गरी कुल १८ पदक हात पार्दै पहिलो स्थान हासिल गर्यो।
गल्छी गाउँपालिकाभित्रका १५ विद्यालय सहभागी रहेको प्रतियोगितामा एथलेटिक्स, दौड, भलिबल, कबड्डी लगायतका विभिन्न खेल विधा समावेश गरिएको थियो। प्रतियोगितामा ३० स्वर्ण, ३० रजत र ३० कास्य गरी कुल ९० पदक वितरण गरिएको थियो।
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा अंक स्कोर बढाउन महत्वपूर्ण मानिने ताइक्वान्दो खेल भने यस वर्ष गल्छी गाउँपालिकाले समावेश नगरेको जनाइएको छ।
विद्यालयगत पदक तालिका (शीर्ष स्थानहरू)
- द राइजिङ भिलेज इङ्गलिस स्कुल – ९ स्वर्ण, ६ रजत, ३ कास्य (कुल १८) – प्रथम
- सक्सेस एकेडेमी – ६ स्वर्ण, २ रजत, २ कास्य (कुल १०) – द्वितीय
- अमन्तादेवी मावि – ५ स्वर्ण, ५ रजत, ९ कास्य (कुल १९) – तृतीय
- सरस्वती मावि – ४ स्वर्ण, ३ रजत
- जनकल्याण मावि – ३ स्वर्ण, ५ रजत, ४ कास्य
- गोगनपानी मावि – ३ स्वर्ण, ४ रजत, १ कास्य
प्रतियोगितामा विजयी विद्यार्थी तथा विद्यालयलाई गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा ले शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गर्दै खेलकुदले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । तस्वीर: गल्छी गाउँपालिकाको फेसबुकबाट
