धादिङकका दिपक बस्नेतद्वारा निर्देशित टेलिचलचित्र ‘नवयुग’ सार्वजनिक

Avatar photo
Dhadingpost
मंसिर १७, २०८२

काठमाडौं । धादिङका युवा निर्देशक दिपक बस्नेतद्वारा निर्देशित टेलिचलचित्र ‘नवयुग’ सार्वजनिक भएको छ। सामाजिक–राजनीतिक विकृति, भ्रष्टाचार, कुसंस्कार र नेतृत्व तहमा बढ्दो बेईमानीविरुद्ध कडा संदेशसहित तयार गरिएको उक्त टेलिचलचित्र मंसिर १६ गतेबाट दिप क्रियटिभ युट्युब च्यानलमार्फत दर्शकसमक्ष आएको हो।

यो टेलिचलचित्रको प्रमुख आकर्षण भनेको नेपाली कलाक्षेत्रका दुई मूर्धन्य कलाकार—नाट्य सम्राट सुनील पोखरेलहास्य सम्राट सन्तोष पन्त—पहिलो पटक एउटै पर्दामा देखिनु हो। फरक विधाका यी दुई दिग्गज कलाकारलाई विग्रँदै गएको राजनीतिक अवस्था र युवापुस्ताको परिवर्तनप्रतिको चाहनाले एउटै कथामा भेला पारेको निर्देशक बस्नेत बताउँछन्।

झण्डै तीन दशकपछि टेलिचलचित्रमा फर्किएका सुनील पोखरेलले ‘नवयुग’मा आदित्य गुरुका रूपमा अभिनय गरेका छन्। उनी एक प्रेरणादायी, आदर्शवादी पात्रका रूपमा देखिन्छन्, जसले अँध्यारो राजनीतिक माहोलबीच पनि समाजलाई सकारात्मक दिशातर्फ लैजान सकिन्छ भन्ने बलियो सन्देश दिन्छ।

लोकप्रिय कलाकार सन्तोष पन्तले यसपटक भ्रष्ट राजनीतिक नेतृत्वको प्रतिरूप बनेको अत्यन्त प्रभावशाली ‘धमिरा’ पात्र जीवित रूपमा उतारेका छन्। निर्माता पक्षका अनुसार पन्तको दमदार अभिनयले कथाको मुख्य मर्मलाई अझ बलियो बनाएको छ।

टेलिचलचित्रले भ्रष्ट नेतृत्वविरुद्ध जनआवाज उठाउने, सकारात्मक सोच र सामाजिक परिवर्तनतर्फ प्रेरित गर्ने उद्देश्य बोकेको छ।

निर्देशक दिपक बस्नेतका अनुसार “स्वदेशमै केहि गर्न सकिन्छ, विदेशिनु आवश्यक छैन” भन्ने मूल मन्त्र लिएर निर्माण भएको यो टेलिचलचित्र युवापुस्तालाई जागरणको नयाँ उमंग दिन सक्षम छ।