धादिङमा सर्तसहित सवारी आवागमन सुचारु

Avatar photo
Dhadingpost
अशोज १९, २०८२

धादिङ । जिल्लाका विभिन्न स्थानमा लगातारको वर्षासँगै पहिरोका कारण पृथ्वीलोकमार्ग आंशिक अवरुद्ध भए पनि सर्तसहित सवारी आवागमन सुचारु गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

जल तथा मौसम पूर्वानुमान विभागको पूर्वानुमान र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनअनुसार सम्भावित जोखिम न्यूनीकरणका लागि धादिङमा साना सवारी साधनलाई सावधानीका साथ सञ्चालन गर्न अनुमति दिइएको हो ।

थाक्रे गाउँपालिका–७ सातकिल्ला, गजुरी गाउँपालिका–५ घाटबेसी, गजुरी–६ जहरेखेत र बेनिघाट रोराङ–१० ज्वाङखोला क्षेत्रमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा रहेको प्रशासनले जनाएको छ ।

अत्यावश्यक सेवाका एम्बुलेन्स, दमकल, खाद्यान्न, औषधि, दुग्धजन्य तथा पेट्रोलियम पदार्थ ढुवानी गर्ने सवारीलाई प्राथमिकता दिइने र अन्य सवारी साधनले स्थानीय निकाय तथा सुरक्षाकर्मीको समन्वयमा मात्रै यात्रा गर्नुपर्ने बताइएको छ ।

प्रशासनले यात्रु र चालकलाई जोखिमपूर्ण क्षेत्रबाट यात्रामा ननिस्कन, मौसम अनुकूल भए मात्र यात्रा गर्ने र सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरेको छ ।

रात्रीकालीन सवारी सञ्चालनसम्बन्धी निर्णय भने मौसमको अवस्थाअनुसार गरिने जनाइएको छ ।