बुढिगण्डकी जलविद्युत प्रभावित क्षेत्रको जग्गा रोक्का भएको छैन- ढकाल

Avatar photo
Dhadingpost
चैत्र १५, २०७२

धादिङबेसी चैत्र १५ । बुढिगण्डकी जलविद्युत परियोजनाको प्रभावित क्षेत्रका जग्गा किनवेच गर्न रोक्का नगरिएको जिल्ला मालपोत कार्यालय धादिङका प्रमुख रेवती प्रसाद ढकालले बताउनु भएको छ ।
चैत्र १२ गते देखि जग्गा किनवेच गर्न रोक्काको हल्ला चले सँगै त्यस क्षेत्रका जग्गाधनीहरु किनवेच र अंशबण्डा अनुसार जग्गा धनी पुर्जा बनाउने भिड मालपोत कार्यालयमा बढे सँग प्रमुख ढकालले हल्लाको पछि नलाग्न भन्दै जग्गा रोक्क नगरिएको बताउनु भएको हो ।
हल्लाको भरमा जग्गा रोक्का हुँदैन, जग्गा प्राप्ति ऐन, २०३४ मा व्यवस्था भएअनुसार सरकारले मुअब्जा तोकी पैसा पठाए पछि जिल्ला प्रशासन र मालपोतले सल्लाह गरि निर्णय गरे पछि मात्र रोक्काको काम अगाडी बढ्छ यो दुबै काम भएको छैन अनि कसरी हुन्छ जग्गा रोक्का धादिङपोष्ठलाई प्रमुख ढकालले बताउन् भयो ।
ढकालले आफुले पनि १२ गते देखि रोक्काभएको हल्ला सुनेको हो, तर कुन नेताले कहाँ के बोल्छन् भन्दा पनि बास्तविकता र कानुन अनुसार काम हुँने हुँदा सेवाग्रहीको काम जारी रहेको बताउनु भयो ।
यहि हल्लाका कारण पुर्जा लिनेको भिड १ हप्ता देखि ह्वात्तै बढेको छ एक छिन ट्वाईलेट जाने फुर्सद पनि हुन्न भन्नुहुन्छ मालपोत कार्यलय धादिङका कम्प्युटर अपरेटर कृष्णा खड्का ।
खाजा खाने फुर्सद पनि हुन्न अहिले कामै बुढिगण्ठकी जलविद्युत परियोजना प्रभावित क्षेत्रका मानिसहरुको जस्तो भएको छ जग्गा रोक्काको हल्ला सँगै पुर्जा लिनेहरुको एक्कासी भिड बढ्यो उहाँले बताउनु भयो ।

“राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी अगाडि बढाउने घोषणा भएको लामो समय भयो । स्थानीयबासीको जग्गामा पछिल्लो दिनमा भूमाफियाको चलखेल बढेको छ । खोरिया, पाखा पखेरामा समेत बाहिरका नागरिक आएर खरिद गर्न थालेका छन् ।
धादिङ र गोरखाका करिब ४५ हजार जनताले थातथलो छाड्नुपर्ने सो आयोजना कुन ढाँचामा बन्छ भन्ने बारेमा हालसम्म निक्र्योल हुन नसक्दा निर्माण प्रक्रियाले गति लिन सकेको छैन ।
कुल एक हजार २०० मेगावाटको यो आयोजनाबाट कुन कुन गाविस प्रभावितको सुचिमा छन्

गोरखा
घ्याच्चेक, फुजेल, नाम्जुङ, बुङ्कोट, अस्राङ, बोर्लाङ, धावा, तान्द्राङ, आरुपोखरी, आरुचनौटे, आरुअर्वाङ सबैभन्दा बढी प्रभावित हुनेछन् ।

धादिङ
सलाङ, मैदी, खरी, चैनपुर, सल्यानटार, आगिन्चोक, त्रिपुरासुन्दरी, मार्पाक, मूलपानी, बसेरी, बुडाथुम गाविसको महत्वपूर्ण धान खेत तथा टारहरु पनि प्रभावित हुनेछन् ।
भीमसेन थापाको बगैँचा, पृथ्वीनारायण साहको न्वागी खाने धान खेत, प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर, मास र भटमासका लागि प्रसिद्ध मासटार, क्यामुनटार, जोगीटार, सल्यानटारको तल्लो भाग र गोरखा तथा धादिङको प्रमुख व्यापारिक केन्द्र आरुघाट बजार पनि आयोजनाका कारण प्रभावित हुनेछन् ।
करिव रु दुई खर्ब लागतको सो आयोजना काठमाडौँ, पोखरा, नारायणगढ जस्ता महत्वपूर्ण सहरको विद्युत् मागलाई सम्बोधन गर्न प्रभावकारी हुने विश्वास लिइएको छ ।
कुल २६३ मि अग्लो बाँध बनाउँदा सो आयोजनाले फेवातालभन्दा १५ गुणा ठूलो ताल बन्ने छ । आयोजना प्रभावित स्थानीय आफूले पाउने क्षतिपूर्ति, मुआब्जा, पुनर्वास, पुनःस्थापनाको ढाँचा के हो भन्नेमा सरकारी निकायबाट स्पष्ट ढाँचा आई नसकेकोले प्रभावित क्षेत्रका जग्गा किनबेच नरोकिएको बताईएको छ ।