बागमती प्रदेशद्वारा ५६७ छोरी–बुहारीलाई छात्रवृति प्रदान

Avatar photo
Dhadingpost
फाल्गुन ६, २०७९

हेटौंडा । बागतमी प्रदेश सरकारले ५ वर्षको कार्यकालमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत ५६७ जना छोरी–बुहारीलाई छात्रवृति प्रदान गरेको छ । प्रदेश सरकारले स्थापना कालदेखि हालसम्म गरेको कामहरुलाई समेटेर सार्वजनिक गरेको पुस्तक अनुसार, प्रदेशको ५६७ जनालाई उक्त छात्रवृति प्रदान गरेको हो ।

प्रदेश सरकारको ५ वर्ष पुस्तक सार्वजनिक गर्दै प्रदेशका मुख्यमन्त्री सालिकराम जम्मकट्टेले प्रदेश सरकार सुशासन र नागरिकको सेवा प्रवाहमा गम्भीर रहेको बताए । उनले सबैको सहकार्यबाट समृद्ध प्रदेश निर्माण सम्पन्न हुने बताए ।
प्रदेश सरकारले सो अवधिमा ६९ वटा पक्की पुल र ७ वटा झेलुङ्गे पुल निर्माण सम्पन्न गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । प्रदेश सरकारले ५ वर्षको अवधिमा संशोधन सहित ७० वटा ऐन निर्माण गरेको छ भने अध्यादेश ११, नियमावली ३३, निर्देशिका ५, कार्यविधि ४४, मापदण्ड ७ र आदेश १२ जारी गरेको छ ।

सार्वजनिक पुस्तकमा प्रदेशभित्र विभिन्न सूचकका आधारमा २० नमूना विद्यालय स्थापना, २२१ वटा शैक्षिक परामर्श केन्द्र सञ्चालन अनुमति ७२ विद्यालयलाई बस सेवा उपलब्ध, ३३१ माविमा इ–लाइब्रेरी, १९७ विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना र २२१ वटा सामुदायिक क्याम्पसहरूलाई सवलीकरण गरिएको उल्लेख छ ।