
धादिङ । यसअघिका मुख्यमन्त्री राजेन्द्र पाण्डे हुँदा १४ मन्त्रालय र ४ राज्यमन्त्री सहित १८ जनाको जम्बो मन्त्रीमण्डल रहेको थियो । अहिले शालिकराम जम्कट्टेल मुख्य मन्त्री बने सँगै १४ मन्त्रालय घटाएर ११ बनाईने र राज्यमन्त्री नियुक्त नगरिने भएको छ । बिहिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले हाल कायम रहेको १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउने निर्णय गरेको हो ।
यसअघि मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय कार्यदलले मन्त्रालय घटाउने सुझावसहित प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा बागमती प्रदेशमा १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउन उपयुक्त हुने सुझाव दिइएको थियो ।
माघ ११ गते अपराह्नसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ । मुख्यमन्त्री जम्कट्टेलको अध्यक्षतामा यही पुस २६ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।
