बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई आयोगले स्पष्टिकण सोध्यो

Avatar photo
Dhadingpost
कार्तिक २४, २०७९

धादिङ । निर्वाचन आयोगले बागमती प्रदेशका मुख्यमन्त्रीलाई निर्वाचन आचार संहिता उल्लङ्घन गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता, २०७९ लागू भइसकेपछि बागमती प्रदेश सरकारले ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्याधेश र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी भएभन्दै आयोगले पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।

आयोगले मुख्यमन्त्रीलाई सोधिएको स्पष्टीकरणमा भनिएको छ– प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भई सकेको अवस्थामा मिति २०७९ असोज १३ मा बागमती प्रदेश सरकारबाट अध्यादेश जारी गर्ने कार्यबाट निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को (ख) को उल्लंघन भएको देखिएकोले यहाँलाई र मुख्यमन्त्री कार्यालयका प्रमुख सचिवलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम किन कारवाही हुनु नपर्ने हो ? साथै निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) मा रहेको ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ भन्ने व्यवस्थाको विपरीत हुनेगरी अध्यादेश ल्याउने गरी भएको निर्णयलाई किन बदर गर्नु नपर्ने हो ? स्पष्ट पार्न भनिएको छ ।