नेपालमा यी ठाउँबाट आज सूर्यग्रहण देख्न सकिन्छ

Avatar photo
Dhadingpost
कार्तिक ८, २०७९

काठमाडौं । कात्तिक ८ गते आज मंगलबार साँझ ४ बजेर ४७ मिनेट देखि करिब ३३ मिनेटसम्म नेपालमा सूर्यग्रहण देखिनेछ । अपराह्न लाग्ने खण्डग्रास सूर्यग्रहण तराईभन्दा पहाडी र खुला क्षेत्रबाट मात्रै देखिनेछ । नेपाली समयअनुसार काठमाडौंमा ४ बजेर ५४ मिनेटमा, पोखरामा ४ बजेर ५१ मिनेटमा, झापाको भद्रपुरमा ४ बजेर ५८ मिनेटमा, जनकपुरमा ४ बजेर ५६ मिनेटमा र कञ्चनपुरको महेन्द्रनगरमा ४ बजेर ४७ मिनेटमा ग्रहण देखिने छ ।वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रालय विकास समितिले दिएको जानकारी अनुसार काठमाडौंबाट ३६ मिनेट, पोखराबाट ४२ मिनेट, भद्रपुरबाट २१ मिनेट, जनकपुरबाट ३२ मिनेट र महेन्द्रनगरबाट एक घण्टा २ मिनेटसम्म अवलोकन गर्न सकिने छ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार अध्यक्ष सुरेश भट्टराईले भने, ‘सूर्य आफैंमा एउटा ठूलो तारा हो । यसलाई हेर्नका लागि आँखामा समस्या पर्न सक्छ ।’ सोसाइटीले विभिन्न ठाउँमा समन्वय गरेर सातै प्रदेशमा हेर्न सक्ने सम्भावना रहेको जनाएको छ । ग्रहण हेर्नै नहुने भन्ने होइन, अध्ययनका लागि पनि हेरिन्छन् । अवलोकन सुरक्षित तवरले साधनका माध्यमले गर्न सकिन्छ । घरमै बसेर पिन होल क्यामेरा मेथडबाट अवलोकन गर्न सकिने भट्टराई बताउँछन् । घरमै उपलब्ध स्रोतसाधनबाट छाया पारेर हेर्न सकिने उनी प्रस्ट्याउँछन् । सूर्यग्रहण हेर्न पाइने विशेष किसिमको चस्मा पनि प्रयोग गर्न सकिने उनले बताए । खगोलशास्त्रीहरूले जहिल्यै चन्द्रग्रहण जस्तो सूर्यग्रहणलाई सिधा आँखाले हेर्न नहुनेमा सबैलाई सतर्क गराउँदै आएका छन् ।

सूर्यग्रहणमा सूर्य र पृथ्वीको बीचमा चन्द्रमा एउटा लहरमा हुन्छ । ‘पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ, चन्द्रमाले पृथ्वीलाई । परिक्रमा गर्ने क्रममा चन्द्रमा सूर्य र पृथ्वीको बीचमा आइपुग्छ,’ नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान ९नास्ट० का सहप्राज्ञ एवं खगोल अध्येता विनोद अधिकारी भन्छन्, ‘चन्द्रमा पृथ्वी र सूर्यको बीचमा हुँदा सूर्यबाट आउने प्रकाश चन्द्रमाले छेकिदिन्छ । जसका कारणले चन्द्रमाको छाया पृथ्वीमा पर्छ ।’ अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार ग्रहण यस्तो आकाशीय घटना हो, जहाँ हामीले देख्दै आएको दुई ठूला वस्तु, सूर्य र चन्द्रमाको वस्तुको रूप परिवर्तन गरिदिन्छ । कुनै पनि एउटा आकाशीय पिण्डले अर्को आकाशीय पिण्डलाई छेकेर सूर्यको प्रकाश जानबाट रोक्दा ग्रहण लाग्ने गर्छ । ग्रहण लागेको बेला आकाशीय पिण्डको छाया अर्को वस्तुमा देखिन्छ ।