
काठमाडौं । हिन्दु धर्मावलम्बीहरुले वडा दशैं लगत्तै मनाउने अर्को ठूलो र महत्वपूर्ण चाडको हो- तिहार अर्थात यमपञ्चक । यहि तिहारको पहिलो र महत्वपूर्ण दिनलाई नै काग तिहार भनिन्छ । तिहारको प्रथम दिन काग तिहारमा एका बिहानै कागको पूजा गरिन्छ । वर्षभरि कागले घरआगनमा सुखद र प्रगतिशील खबर अनि सौभाग्यका कुराहरुमात्र ल्याओस भनेर कामना गर्दै घर बाहिर हरियो पात, दुना, टपरीमा विभिन्न परिकारहरू कागकालागि भनेर खुल्ला ठाउँहरु राख्ने चलन छ ।
आजको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापकोभागी भइन्छ भन्ने धार्मिक मान्यता छ । कागतिहारमा कागलाई घरआँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ । आज कागतिहारकै दिन समुद्र मन्थनका बेला उत्पत्ति भएका आयुर्वेदका प्रवर्तकधन्वन्तरी ऋषिको सम्झनामा धन्वन्तरी दिवस पनि मनाइन्छ । आज यमदिप दान गर्नाले यमराजको यातनाबाट मुक्त हुने अर्को धार्मिक विश्वास छ । यमदिप दान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको छ ।
मृत्यूका देवता यम आफ्नी बहिनी यमुनासँग धेरै समयदेखि भेट्न पाएका थिएनन्, यमुनालाई आफ्नो दाजुसँग भेट्ने धेरै इच्छा भएर विभिन्न माध्यमहरुमार्फत दाजुलाई भेट्न आउन निम्तो पठाईन्, उन्ले यम समक्ष शुरुमा काग अनि कुकुर, गाई अनि अन्त्यमा आफैँ गएर दाजुलाई भेटेको प्रसगं छ, दाजुलाई भेटेपछी उन्ले दाजुलाई टीका, फूलमालाले पूजा गरि रङ्गीन टिका निधारमा लगाएकी थिइन । तोरीको तेलले दाजु वरिपरि रेखा कोरेर मखमली फूलको र दुबोको माला लगाईदिई पूजा गर्दै भाईटीका लगाएकी थिइन् । त्यही क्रमलाई यमपञ्चकको पाँचौ दिनमा भाईटीका लगाएपछि तिहारको विधीवत अन्त्य हुन्छ ।
काग तिहारमा विहानैदेखि कागको पूजा गरिन्छ, घरवाहिर विभिन्न खानेकुराहरु पात या दुना टपरीमा कागका लागी भनेँर राखिन्छ र वर्षभरि कागले घरआगनमा सुखद र प्रगतिशील खबर अनि भाग्यकाकुराहरुमात्र ल्याओस भनेर कामना गरिन्छ ।उता सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा भने अलिक फरक ढंगले काग तिहार मनाईन्छ । सुदूरपश्चिमको स्थानीय भाषमा नरहरी भनिने यस चाड माघे सक्रान्ति अर्थात पुसे तिहार भनेर मनाईन्छ । सुदूरपश्चिमका जिल्लामा पुसे तिहार अर्थात माघे सक्रान्तिमा कागलाई सेल रोटी र अन्य मिठापरिकारहरु खुवाउने चलन रहेको छ । हरेक वर्ष पुस मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागलाई दिने गरिन्छ ।
काग तिहारमा कागलाई यमराजको सन्देश वाहकका रुपमा पूजा गरिन्छ । काग तिहारका दिन मात्रै कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ । काग अर्थात सन्देश प्रवाहक प्राणी, काग करायो भनें केही सन्देश या पाहुना आउने जनाउका रुपमा नेपाली समाजमा लिने चलन अझै छ, हैन र ? कागलाई विशेषगरी अशुभ सन्देश प्रवाह गर्ने पन्छीका रुपमा लिइन्छ । धर्मशास्त्रहरु अनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जिवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको छ । आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनश्रुति अहिलेपनि रहेको छ । तर काग तिहारमा भने यी सवै नकारात्मक मान्यताहरुलाई विर्सिएर कागको पूजा गरिन्छ ।









































