
धादिङ । चेपाङ समुदायले आज न्वागी (छोनाम) पर्व विविध कार्यक्रमका साथ मनाउँदै छन् । चेपाङ समुदायको ठूलो पर्वका रूपमा लिइने न्वागी पर्व मनाउनका लागि धादिङ, गाेरखा, चितवन र मकवानपुरमा बागमती प्रदेश सरकारले अाज सावर्जनिक विदा समेत दिएकाे छ ।
चेपाङ समुदायमा नयाँ अन्न भित्रिएकाले आफ्ना पितृलाई विधिपूर्वक पूजाआजा गरी नयाँ अन्न र फलफूलहरू चढाएर मात्रै आफूले खाने चलन छ । पितृलाई नचढाई खाएमा रोगव्याधि लाग्छ भन्ने धार्मिक विश्वास रहेको पाइन्छ । सो दिन उनीहरूले कुखुराको बलिसमेत दिने गर्छन् ।
न्वागीका दिन चेपाङ झाँक्री पान्देहरूले रातभर ढ्याङ्ग्रो ठोकेर पितृ खुसी पार्ने गर्छन् । यो दिन छोरीचेलीले ल्याएको कोसेली सगुन खाई सांस्कृतिक नाच र गीत प्रस्तुत गर्ने गर्दछन् । रातभर दोहोरी गाउने केटाकेटी चिनजान गर्ने र मन मिले सोही रात भगाएर विवाह गर्ने प्रचलन समेत रहँदै आएको तिलक चेपाङले धादिङपाेष्टलाई बताए ।
नेपालको २६ जिल्लामा बसोबास गर्ने चेपाङ समुदायको सङ्ख्या राष्ट्रिय जनगणना २०६८ अनुसार ६८ हजार ३९९ रहेकाेमा अहिले ८० हजार पुगेकाे छ ।
