
काठमाडौं । वीर अस्पतालमा पित्त थैलीको पत्थरीको शल्यक्रिया गर्न गएको एक जना बिरामीको तीनवटा दाँत झिकिए पछि बढेको तनाव अझै साम्य भएको छैन । चिकित्सकले उपचारमा लापरवाही गरेको आरोप आफन्तहरुले लगाएका छन् भने अस्पतालले काम गर्ने क्रममा देखिएको जटिल समस्या भनेको छ ।
नुवाकोटकी ५० वर्षीया राधिका ओझा गत ३० साउनमा पित्तथैलीको पत्थरीको शल्यक्रिया गर्न वीर अस्पतालमा भर्ना भएकी थिईन् । चिकित्सकको टोलीले ३१ गते शल्यक्रिया गर्न उनलाई शल्यक्रिया कक्षमा छिराएको थियो । तर शल्यक्रिया कक्षबाट निकाल्दा अगाडी तर्फको माथिल्लो भागको तीनवटा दाँत थिएन ।
परिवारका सदस्यहरुले पित्तथैलीको पत्थरी झिक्न शल्यक्रिया कक्षमा लगेको आफ्नो बिरामीको दाँत झिकेर पठाइदिएको आरोप लगाएका छन् । उनीहरुले चिकित्सकको गम्भीर लापरवाहीका कारण यस्तो भएको आरोप लगाएका छन् । अस्पतालले भने कहिलेकाँही देखिने ‘जटिल समस्या’ भनेको छ ।
अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा भुपेन्द्रकुमार बस्नेतले शल्यक्रिया गर्नु अघि भेन्टिलेटरमा राख्ने क्रममा आएको जटिल समस्या भनेका छन् । ‘यो घटनाको विषयमा मैले पनि थाहा पाएको छु । हिजो नै बिरामीको आफन्तसंग कुराकानी पनि भएको छ । अब आइतबार उपचारमा सम्लग्न चिकित्सकसंग पनि छलफल हुनेछ,’ डा बस्नेतले भने ।
डा बस्नेतले हजारौँ लाखौँमा केशमा यस्तो समस्या हुने भन्दै यो विरामीको केशमा पनि त्यहि घटना भएको बताए । ‘सबैमा होईन कसै कसैमा यस्तो समस्या आउँछ । यो केशमा पनि समस्या भएको हो । उहाँको अहिले पत्थरी पनि झिकिसकिएको छ । अब दाँतको पनि उपचार हुन्छ,’ डा बस्नेतले भने ।
