बेनी शिक्षा सदनकी मालश्री श्रेष्ठ बागमती प्रदेशस्तरीय चित्रकला प्रतियोगितामा प्रथम

Avatar photo
Dhadingpost
अशोज ४, २०८३

धादिङ । बेनीघाट रोराङ–५ स्थित बेनी शिक्षा सदनमा कक्षा १ मा अध्ययनरत छात्रा मालश्री श्रेष्ठ बागमती प्रदेशस्तरीय ‘Colouring & Drawing Champs–2083’ चित्रकला प्रतियोगितामा प्रथम भएकी छिन् ।

Cosmos Educational Training & Research Centre, Nepal को आयोजनामा सम्पन्न प्रतियोगितामा बागमती प्रदेशका विभिन्न विद्यालयका विद्यार्थीहरू सहभागी भएका थिए । विद्यार्थीमा रहेको सिर्जनात्मक प्रतिभा प्रस्फुटन गराउने तथा बौद्धिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

विभिन्न चरणमा सञ्चालन भएको प्रतियोगिताको फाइनल चरणमा उत्कृष्ट प्रदर्शन गर्दै मालश्रीले प्रथम स्थान हासिल गरेकी हुन् ।

प्रथम भएसँगै मालश्रीले नगद १६ हजार ५ सय रुपैयाँ (रु. १६,५००) सहित आकर्षक मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेकी छिन् । प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई आयोजकले समारोहका बीच पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरेको जनाएको छ ।

मालश्रीको सफलताप्रति खुसी व्यक्त गर्दै बेनी शिक्षा सदनका प्रधानाध्यापक डिपी सापकोटाले सानै उमेरमा प्रदेशस्तरीय प्रतियोगितामा प्रथम स्थान हासिल गरेर छात्राले विद्यालयको नाम उच्च राखेको बताए ।

बालबालिकाको सिर्जनात्मक तथा बौद्धिक क्षमता अभिवृद्धिका लागि विद्यालयले अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै उनले मालश्रीको सफलताले सम्पूर्ण विद्यालय परिवारलाई गौरवान्वित बनाएको बताए । यो सफलता अन्य विद्यार्थीका लागि पनि प्रेरणाको स्रोत बन्ने उनको विश्वास छ ।