
धादिङ । नेपाली कांग्रेस धादिङका अनुसार जिल्लाका १०४ वटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ । कांग्रेस धादिङका सहसचिव नवराज तिमल्सिनाले जिल्लाका सबै वडामा अधिवेशन उल्लासपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिएका छन् ।
उनका अनुसार ज्वनलामुखी, त्रिपुरासुन्दरी र नीलकण्ठकाे १ /१ ठाउँमा छलफल जारी रहेकाे भएता पनि अन्य वडाहरुमा सहमतिबाट वडा समिति चयन भईसकेकाे उनले बताए ।
कांग्रेस धादिङले यसअघि सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज ७ गते गाउँपालिका तथा नगरपालिका अधिवेशन र असोज १० गते प्रदेशसभा क्षेत्रीय तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने तयारी छ। जिल्ला कार्यसमितिको आधिकारिक सूचनाले पनि यही कार्यतालिका तय गरेको छ ।
सहसचिव तिमल्सिनाले वडा अधिवेशन सम्पन्न भएसँगै धादिङमा कांग्रेस विभाजित नभएको सन्देश गएको दाबी गरेका छन् । उनले वडा अधिवेशनमा सहभागी भएर निर्वाचित भएका सभापति तथा प्रतिनिधिहरूलाई बधाई दिँदै आगामी अधिवेशनहरू पनि उत्साहपूर्ण रूपमा सम्पन्न हुने बताएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङमा बाढी प्रभावित जिल्लाका लागि तय गरिएको संशोधित कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अघि बढाइएको हो ।
