
धादिङ । काठमाडौंमा सञ्चालन हुने यू–२० इन्डोर राष्ट्रिय पुरुष तथा महिला जुनियर कबड्डी प्रतियोगिता–२०८३ का लागि बागमती प्रदेशको टोली घोषणा हुँदा धादिङका ४ जना खेलाडी छनोट भएका छन् ।
अखिल नेपाल कबड्डी संघको आयोजनामा हुने प्रतियोगिताका लागि बागमती प्रदेश कबड्डी संघले असोज ४ गते सञ्चालन गरेको छनोट प्रतियोगिताबाट प्रदेश टोली घोषणा गरेको हो ।
घोषित टोलीमा धादिङबाट पुरुषतर्फ सुनिल भुजेल र अर्जुन तामाङ तथा महिलातर्फ धन राहाडी मगर र अलिशा अधिकारी छनोट भएका छन् ।
यसअघि बागमती प्रदेशको यू–२० कबड्डी टोली छनोटका लागि धादिङका खेलाडीलाई अवसर रहेको समाचार धादिङपोष्टले प्रकाशित गरेको थियो । छनोट प्रतियोगितापछि चार खेलाडी प्रदेश टोलीमा स्थान बनाउन सफल भएका हुन् ।
बागमती प्रदेश कबड्डी संघका संयोजक शरद दर्शनधारीद्वारा हस्ताक्षरित सूचनाअनुसार प्रतियोगिता असोज १६ देखि १८ गतेसम्म काठमाडौंमा सञ्चालन हुनेछ ।
बागमती प्रदेशको पुरुष टोलीमा धादिङका सुनिल भुजेल र अर्जुन तामाङसहित भक्तपुरका विप्न दाहाल, बिरोज तामाङ र ज्ञानेन्द्र बुढा क्षेत्री, रामेछापका निशाल श्रेष्ठ तथा काभ्रेपलाञ्चोकका प्रदिप पुलामी रहेका छन् । टोलीको प्रशिक्षकमा विनय गोसाई र टिम व्यवस्थापकमा सुमन कुवर छन् ।
त्यस्तै, महिला टोलीमा धादिङका धन राहाडी मगर र अलिशा अधिकारीसहित काठमाडौंका सुस्मि राई र सलिना धामी, भक्तपुरकी प्रकृति राई तथा ललितपुरकी ललिता प्रहरी र सरस्वती तामाङ रहेका छन् । महिला टोलीको प्रशिक्षकमा सबिन बोहजु रहेका छन् ।
धादिङका चारै खेलाडीले यसअघि पनि जिल्लाको कबड्डी खेलमा राम्रो प्रदर्शन गर्दै आएका छन् । धादिङका खेलाडीहरू बागमती प्रदेशबाट राष्ट्रियस्तरका प्रतियोगितामा समेत सहभागी हुँदै आएका छन् ।
