
धादिङ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावितहरूलाई खाना तथा खाजा खुवाउने अभियानमा सक्रिय धादिङका पर्यटन व्यवसायी तथा समाजसेवी कमलप्रसाद रिमाललाई World Central Kitchen (WCK) ले साझेदारी प्रमाणपत्र प्रदान गरेको छ ।
२०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि रिमाल भोलिपल्टदेखि नै प्रभावित क्षेत्रमा पुगेर राहत तथा खाद्य वितरणमा जुटेका थिए । सुरुका दिनमा जहाँ प्रभावितहरू भेटिन्थे, त्यहीँ पुगेर उनले प्याकिङ खाना तथा खाजा उपलब्ध गराउँदै आएका थिए । त्यसपछि हाेल्डिङ सेन्टरमा पुगेरै खाना/खाजा खुवाउने कार्य गरे ।
रिमालको यस अभियानमा World Central Kitchen (WCK) ले सहकार्य गरेपछि प्रभावित समुदायसम्म खाना पुर्याउने कार्य थप सहज भएको थियो । राहत तथा खाद्य वितरणमा गरेको सहकार्यको कदरस्वरूप WCK ले रिमाललाई Certificate of Partnership प्रदान गरेको हो ।

साझेदारी प्रमाणपत्र प्राप्त गरेपछि सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै रिमालले बाढी प्रभावित समुदायका लागि WCK सँग सहकार्य गर्दै सेवा गर्न पाएकोमा आफू अत्यन्तै खुसी र गर्वित भएको बताएका छन् ।
उनले कठिन समयमा प्रभावित परिवारसम्म खाना पुर्याउन, समुदायसँगै उभिन र आवश्यक सहयोग गर्न पाउनु ठूलो जिम्मेवारी तथा मानवीय अनुभव भएको उल्लेख गरेका छन् । साथै, यस अभियानमा साथ दिने WCK का सम्पूर्ण टोली, स्वयंसेवक, सहयोगी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति उनले धन्यवाद व्यक्त गरेका छन् ।
रिमालले प्राप्त प्रमाणपत्रलाई कठिन समयमा देखाइएको एकता, मानवता र सेवाभावको सम्झनाका रूपमा लिएको बताएका छन् ।
रिमालले भोटेकोशी बाढीमा बेपत्ता भएका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ का राजु राना मगर र गोविन्द थापा मगरका परिवारलाई आर्थिक सहयोग गरेका थिए । उनले दुवै परिवारलाई जनही ७५ हजार रुपैयाँका दरले जम्मा १ लाख ५० हजार रुपैयाँ सहयोग गरेका थिए । उक्त रकम वडा अध्यक्ष कपिलदेव सिंखडालाई QR मार्फत हस्तान्तरण गरिएको थियो ।
ठमेलमा पर्यटन व्यवसायसँगै पर्यटक लक्षित होटल व्यवसाय सञ्चालन गर्दै आएका रिमाल बाढीपछि प्रभावितका लागि राहत तथा खाद्य वितरणमा निरन्तर सक्रिय रहँदै आएका छन् । उनी सामाजिक सेवामा समेत सक्रिय युवा समाजसेवीका रूपमा परिचित छन् ।
