मोहन वैद्यद्वारा श्रीनाथ अधिकारी स्मृतिग्रन्थ विमोचन

Avatar photo
Dhadingpost
असार २३, २०७९

काठमाडौं । माओवादी आन्दोलनका निष्ठावान व्यक्तित्व गोरखाका स्वर्गिय श्रीनाथ अधिकारी (श्याम) को बिषयमा लेखिएको स्मृति ग्रन्थ विमोचन गरिएको छ । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले स्वर्गीय अधिकारीको तेस्रो स्मृति दिवसको अवसर पारेर स्मृति ग्रन्थको विमोचन गरेका हुन् ।

नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रीय समितिले प्रकाशन गरेको स्मृति ग्रन्थ इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा बिमोचन गरिएको हो । सो स्मृतिग्रन्थमा पार्टी महासचिव मोहन वैद्य किरण, नेताहरु सिपी गजुरेल, रामसिंह श्रीस, हरिभक्त कँडेल, इन्द्रमोहन सिंग्देल लगायतका नेताहरुको संस्मरण लेखहरु रहेका छन् ।

ग्रन्थको पहिलो खण्डमा स्वर्गीय श्यामको संक्षिप्त जीवनी, दोस्रो खण्डमा उनीसँग सहकार्य गरेका नेताहरु, सहयोद्धाहरु, परिवारका सदस्यहरुको संस्मरणात्मक लेखहरु र तेस्रो खण्डमा उनको विषयमा भएको अन्तरक्रियात्मक कार्यक्रम, श्रद्धाञ्जली, समवेदना पत्र र तस्बीरहरु समेटिएका छन् ।

प्रस्तुत स्मृतिग्रन्थमा क्रान्तिकारी माओवादी पार्टीका पोलिटव्यूरो सदस्य श्रीनाथ अधिकारीले देश जनता, क्रान्ति तथा पार्टीको निम्ति गरेका काम र योगदानहरुको अभिलेख रहेको महासचिव किरणले उल्लेख गरेका छन् । यो स्मृतिग्रन्थ पार्टीका नेता, कार्यकर्ता तथा सम्पूर्ण सदस्यहरु, शुभेच्छुकहरु र देश, जनता, क्रान्ति तथा कम्युनिस्टप्रति आस्थावान सबैका लागि विशेष पठनीय तथा संग्रहणीय दस्तावेज रहेको छ ।

कार्यक्रममा क्रान्तिकारी माओवादीका नेताहरु सीपी गजुरेल, रामसिंह श्रीस, नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला, स्वर्गीय श्यामकी जीवनसंगिनी राधिका अधिकारी, छोराहरु नारायण अधिकारी, क्रान्तिकारी संयुक्त मोर्चा, नेपालका संयोजक नारायण शर्मा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।