सवारीमा इम्बोस्ड नम्बर अनिवार्य, अटेर गरे ६ महिना कैद

Avatar photo
Dhadingpost
जेष्ठ २३, २०७९

काठमाडौं । सरकारले तोकेको मितिमा सवारीसाधनमा इम्बोस्ड नम्बर जडान नगरेमा ६ महिनासम्म कैद सजाय हुने विभागका महानिर्देशक नमराज घिमिरेले बताए । यातायात व्यवस्था ऐन, २०४९ मा सरकारले तोकेअनुसारको मितिभित्र आफ्नो सवारीसाधनमा इम्बोस्ड प्लेट नम्बर जडान नगरे ६महिना सम्म कैद सजाय हुन सक्ने व्यवस्था छ ।

बागमती र गण्डकी प्रदेशलाई १ साउनदेखि अनिवार्य गरिएको छ । बागमती र गण्डकी प्रदेशमा सवारीसाधनको संख्या अधिक भएकाले यी प्रदेशको नाम तोकिएको महानिर्देशक घिमिरेले बताए । ‘यसको मतलब साउनदेखि इस्बोस्ड नम्बर जडान नगरेकालाई सवारीसाधन नै चलाउन नदिने नै चाहिँ होइन । तर, प्रदेश सरकारले बाँकी रहेको १५ महिनालाई लक्षित गरी इम्बोस्ड नम्बर प्लेट दर्ता गर्ने तालिका तयारी गरोस् भन्ने हो,’ उनले भने ।

कति लाग्छ इम्बोस्ड नम्बर प्लेट जडानका गर्न
विभागका अनुसार इम्बोस्ड नम्बर प्लेट जडानका गर्न दुईपांग्रे सवारीसाधनका लागि दुई हजार ६ सय शुल्क लाग्नेछ । तीनपांग्रे साधनका लागि दुई हजार नौ सय, साना सवारीसाधनका लागि तीन हजार दुई सय र ठूला सवारीसाधनका लागि तीन हजार ६ सय रुपैयाँ लाग्नेछ । यो शुल्क अति नै महँगो भएको सर्वसाधारणले गुनासो गरेका छन् ।

कसरी जडान गर्ने इम्बोस्ड नम्बर प्लेट
इम्बोस्ड नम्बर प्लेट जडान गर्न अनलाइनमार्फत निवेदन दिन सकिनेछ । निवेदन दिँदा आफ्नो सवारीसाधनको सबै सूचना उपलब्ध गराउनुपर्नेछ । सो सूचना र यातायात कार्यालयमा भएको सूचनालाई एक–आपसमा भिडाउनुपर्नेछ । तत्पश्चात् कार्यालयमा नै भएको बैंकमा गएर तोकिएको शुल्क बुझाउनुपर्नेछ । आफ्नो सवारीसाधन दर्ता भएको कार्यालयमा गएर नम्बर प्लेट जडान गर्न सकिने विभागले जनाएको छ । नम्बर प्लेट कार्यालयले नै जडान गरिदिनेछ । यो समाचार आजको नयाँ पत्रिकामा छ ।