धादिङको अन्नपूर्ण क्वारिज प्रालिका ऋषि अग्रवाल विरुद्ध मुद्दा दायर

Avatar photo
Dhadingpost
माघ १२, २०७८

धादिङ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धादिङको अन्नपूर्ण क्वारिज प्रालिका ऋषि अग्रवाल सहित खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे लगायतलाई भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले एक अर्ब २४ करोड ३५ लाख २६ हजार ६४३ बराबरको राजश्व चुहावट गरेर भ्रष्टाचार गरेको कसुरमा महानिर्देशक रामप्रसाद घिमिरे सहितका व्यक्तिमाथि बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार मुद्दा दायर भएकामा ९ वटा कम्पनीका ९ जना सञ्चालक पनि छन् । त्यसमा धादिङको अन्नपूर्ण कोएरिज प्रालिका ऋषि अग्रवाल पनि रहेको अख्तियारका सहायक प्रवक्ता वेदप्रकाश भण्डारीले बताए ।

मुद्दा दायर भएकामा भू–गर्भ विभागका सुपरीटेन्डेन्ट माइनिङ इन्जिनियर जयराज घिमिरे, कानुन उपसचिव सपना अधिकारी, उपन्यायाधीवक्ता चन्द्रकुमार पोखरेल, सिनियर डिभिजनल मेकानिकल इञ्जिनियर प्रशान्त बोहरा, सिनियर जिओलोजिस्ट धर्मराज खड्का, लेखा अधिकृत श्रीभद्र गौतम, रिसर्च अधिकृत वसन्त अधिकारी र जिओलोजिष्ट डा। सौनक भण्डारी छन्।

यसैगरी, सर्वोत्तम सिमेन्टका प्रबन्ध सञ्चालक विष्णुप्रसाद न्यौपाने, सिद्धार्थ मिनरल्स प्रालिका पशुपति मुरारका, मारुती सिमेन्टका शरद गोयल, अन्नपूर्ण कोएरिज प्रालिका ऋषि अग्रवाल, उदयपुर मिनरल्स टेक प्रवलजंग पाण्डे, युनाइटेड सिमेन्ट प्रालिका नरेश दुगढ, सोनापुर मिनरल्स प्रालिका निपेश टायल, कञ्चल कोयरिज प्रालिका भीमबहादुर थापा क्षेत्री र दोलोमाइट चुनढुंगा प्रालिका सञ्चालक मानबहादुर श्रेष्ठविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको भण्डारीले जानकारी दिए ।

खानी तथा चुनढुंगा दोहनमा सञ्चालकसँग मिलेमतो गरी सरकारी राजश्व हिनामिना गरेको आरोप उनीहरूलाई छ। भण्डारीका अनुसार २०७४ सालमा खानी तथा चुनढुंगा उद्योगहरूले दोहन गरेको आरोप लागेको थियो । धादिङको बेनिघाट रोराङ गाउँपालिका १० स्थित जोगिमारामा चुनखानी संचालन गरि रहेको अन्नपूर्ण क्वारिजलाई छाविन समितिले १६ करोड ६८ लाख क्षतिपूर्ति भराई असुल उपर गराउन सिफारिस गरे पनि सरकारले १ लाख लिएर छुट गराईएको पाईएको थियो ।

अनुमतिभन्दा २६ लाख टन बढी चुनढुंगा उत्खनन गरेर राज्यलाई सवा अर्ब रुपैयाँ राजस्व क्षति पुर्‍याउने धादिङको अन्नपूर्ण क्वारिज सहित नौ उद्योगलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको निर्देशनलाई समेत लत्याएर खानी तथा भूगर्भ विभागले १ लाख जरिवानामै उन्मुक्ति दिइएको थियो ।
यस अघिको समाचार धादिङको अन्नपूर्ण क्वारिजलाई १ लाख मात्रै जरिवाना