
काठमाडौं । प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । आजबाट सुरुभएको यस प्रतियोगितामा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ४९ रनले पराजित गरेको हो ।
समूह ‘बी’ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा जितका लागि १ सय १५ रनको लक्ष्य पछ्याएको लुम्बिनी १५ दशमलब ४ ओभरमा ६५ रन बनाउदै अलआउट भयो । लुम्बिनीका लागि कप्तान कृष्ण कार्कीले सर्वाधिक १६ रन तथा बसिर अहमदले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन ।
बागमतीका लागि नन्दन यादवले सर्वाधिक ३ विकेट हात पारे । रामनरेश गिरी, तिलक भण्डारी र सुवास खत्रीले समान दुई–दुई विकेट लिए । रिजन ढकालले एक विकेट चट्काए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय १४ रन जोड्यो । बागमतीका लागि सुवास खुकुरेलले सर्वाधिक ५१ रनको योगदान गरे ।
कप्तान ज्ञानेन्द्र मल्ल १९ रनमा आउट भए । लुम्बिनीका लागि दुर्गेश गुप्ता र अनिल खरेलले दुई–दुई विकेट हात पारे ।
सिद्धान्त शाही, विक्रम भुषाल तथा बसिर अहमदले एक–एक विकेट लिए ।
बागमतीको टोली
ज्ञानेन्द्र मल्ल (कप्तान), सुवास खकुरेल (विकेटकिपर), नन्दन यादव, आदिल खान, लक्की खडायत, प्रतिश जि.सी., ईशान पाण्डे, रामनरेश गिरी, तिलकराज भण्डारी, रिजन ढकाल, सुमन सुनार, विपिन आचार्य, सुभास खत्री र रोशन विक ।
प्रशिक्षक: रिकेश लामा
व्यवस्थापक: रुपक रञ्जित
बागमतीको खेल तालिका
पुष २६ (१० जनवरी) – लुम्बिनीसँग मुलपानी क्रिकेट मैदान (दिउँसो)
पुष २७ ( ११ जनवरी) – एपिएफसँग टियु मैदान, दिउँसो
पुष ३० (१४ जनवरी) – प्रदेश २ सँग, टियु (दिउँसो)
माघ १ (१५ जनवरी) – गण्डकीसँग टियु मैदान, दिउँसो
प्रधानमन्त्री कप क्रिकेट आजबाट हुँदै, १० टिम सहभागी (खेल तालिका समेत)
यस्तै आजै ओपनर प्रदीप ऐरी र आसिफ शेखको अर्धशतकको सहयोगमा नेपाल एपिएफ क्लबले प्रदेश २ लाई २४ रनले हराउँदै विजयी सुरुवात गरेको छ ।
त्यस्तै १० खेलाडीमा सिमित विभागीय टोली त्रिभुवन आर्मी क्लबले १ सय १७ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली ५३ रनमा अल आउट गर्दै विजय सुरुवात गरेको थियो ।
