
धादिङ मंसिर २ । गजुरीको गलौंदी खेल मैदानमा बुधबारबाट जारी जिल्ला स्तरीय नवौं एन्फा लिग अन्तरगत आज दोस्रो दिन ४ खेलहरु सम्पन्न भएका छन् ।
आजको पहिलो खेलमा गलौंदी युवा समाज गजुरी र न्यू स्टार युवा समाज थाक्रे बीच भएको खेल गोल रहित बराबरीमा सकिएको थियो, भने दोस्रो दिनको दोस्रो खेलमा धादिङ समाज धादिङ नीलकण्ठ र अरुणदय युवा क्लव, आदमटार सिद्धलेक बीच भएको थियो । यो खेलमा अरुणदय क्लवको १ गोलका विरुद्ध धादिङ समाजले २ गोल गर्दै विजयी भएको खेल प्रशिक्षक दिपक तामाङले धादिङपोष्टलाई बताए ।
यस्तै खेल प्रशिक्षक तामाङका अनुसार आज भएको तेस्रो खेल पञ्चकन्या युवा क्लव एक्लेफाँट, थाक्रे र व्वाईज यूनाईटेड धादिङबेसी बीच भएको थियो । यस खेलमा पञ्चकन्यालाई शुन्यमा रोक्दै व्वाईज यूनाईटेडले २ गोल गर्दै विजयी भयो । अजको अन्तिम खेल बिद्यार्थी उपकार समाज, धुवाँकोट, नीलकण्ठ र गजुरी सामुदायीक समाज गजुरी बीच भएको थियो यस खेलमा बिद्यार्थी उपकार समाजलाई १ गोलमा रोक्दै गजुरी सामुदायीक समाजले २ गोल गरी विजयी भएको थियो ।
जिल्ला फुटबल संघले आयोजना गरेको यस प्रतियोगिताको विजेता क्लव प्रदेश स्तरीय प्रतियोगिताको लागि छनोट हुनेछ ।
भोली अर्थात प्रतियोगिताको तेस्रो दिन पनि ४ खेल हुने संघका महासचिव रामहरि थापाले बताए । थापाका अनुसार भोली पहिलो खेले धुनीबेसी युवा क्लव धार्के र गलौंदी युवा समाज गजुरी, दोस्रो खेल अरुणदय युवा क्लव, आदमटार सिद्धलेक र न्यू स्टार युवा समाज थाक्रे, तेस्रो खेल व्वाईज यूनाईटेड धादिङबेसी र गजुरी सामुदायीक समाज गजुरी, चौथो खेल पञ्चकन्या युवा क्लव एक्लेफाँट, थाक्रे र भद्रकाली सामुदायीक समाज मलेखु बीच हु्नेछ ।

