कांग्रेस धादिङमा कति प्रतिनीधि निर्वाचित भए (विवरण समेत)

Avatar photo
Dhadingpost
अशोज ४, २०७८

धादिङ असोज ४ । नेपाली कांग्रेस धादिङले भाद्र २१ गते सम्पन्न वडा अधिवेशनबाट निर्वाचित भएका क्षेत्रिय प्रतिनीधिहरुको संख्या निर्वाचन भएको १७ दिन पछि सार्वजनिक गरेको छ । जिल्लाभरबाट कांग्रेसको २ हजार १८२ जना प्रतिनीधिहरु चुनिएका छन् । पटक पटक हामीले कांग्रेसको अधिवेशन निर्वाचन समिति सँग प्रतिनीधिहरुको नामावली माग्दा कहिले पत्रकारलाई दिन नमिल्ने त कहिले पीडीएफ नबनेकोले पठाउन नसकिएको बताउँदै आएको थियो । आईतबार कांग्रेस कार्यालयले समाजिक संजाल मार्फत नाम रहित प्रतिनीधिहरुको संख्या सार्वजनिक गरेको छ ।

सार्वजनिक प्रतिनीधिहरु संख्या विवरणमा सबै भन्दा बढी नीलकण्ठ नगरपालिकाबाट १७८ जना महिला र ३१० जना पुरुष गरि ४८८ जना प्रतिनीधिहरु चुनिएका छन् । भने सबै भन्दा कम नेत्रावती डवजोङ गाउँपालिकाबाट ३१ महिला र ६२ पुरुष सहित ९३ जना चुनिएका छन् । प्रतिनीधि विवरण: धुनीबेसी नगरपालिका १५७ जना, थाक्रे १८१ जना, गल्छी १३५ जना, गजुरी १३७ जना, बेनीघाट रोराङ १६३ जना, सिद्धलेक १३८, नीलकण्ठ ४८८ जना, ज्वालामुखी १९८ जना, त्रिपुरासुन्दरी १६०, नेत्रावती डवजोङ ९३, गंगाजमुना १२९ जना, खनियाबास ९८ जना, रुबीभ्याली १०५ जना ।

गत अधिवेशनमा २६ मतले जिल्ला सभापति पदमा पराजित भिम प्रसाद ढुङ्गानाले आशन्न जिल्ला अधिबेसनमा पनि सभापतिमा उम्मेदवारी दिने बताएका छन् । देउवा समुहका रुपमा चिनियका ढुङ्गाना कांग्रेसका प्रभावशाली नेता हुन् । रामचन्द्र पौडेल समुहबाट जिल्ला सभापति पदको लागि उम्मेदवार रामनाथ अधिकारी हुने हल्ला चले पनि रामनाथ अधिकारीले १८ वर्ष जिल्ला नेतृत्वमा रहेर काम गरि सकेकोले अर्को नयाँ अनुहारलाई ल्याउनु पर्ने आवाज आए सँगै को उठ्ने टुङ्ग्याउन नसकेको स्रोतले जनाएको छ ।