
धादिङ भदौं २९ । सिद्धालेक गाउँपालिका वडा नम्बर १ काम्दी निवासी नरेश गिरीले एमबीबीएस डाक्टर पढ्नका लागि नेपाल सरकारको पूर्ण छात्रवृत्तिमा नाम निकालेर गण्डकी मेडिकल कलेज पोखरामा सिफारिस भएसँगै गाउँवासीले गाउँमा खुसियाली छाएको बताएका छन् ।
गरिव किसान परिवारमा जन्मिएका नरेशले २०७४ सालको एसईई परीक्षामा ३.६० जीपीए ल्याएर पास गरेका थिए । एसईई पछि मनमा विज्ञान संकाय पढ्ने तीब्र इच्छा भएपनि परिवारको कमजोर आर्थिक अवस्थाका कारण निकै समस्याको सामना नरेशले गरेका थिए । उनै नरेश अब नेपाल सरकारको खर्चमा निशुल्क एमबीबीएस पढ्न पाउने भएसँगै काम्दी बासीमा खुसीयाली छाएको हो ।
चिकित्सा शिक्षा आयोगले यसवर्षको श्रावण ९ गते लिएको प्रवेश परीक्षामा काठमाडौको स्वायम्भु स्थित आर्मी कलेजबाट परीक्षा दिएका नरेशले १५८ नम्बर ल्याएर खुल्ला तर्फ ४२७ र खसआर्य तर्फ ३५ नम्बरमा नाम निकालेका थिए ।
कक्षा १ देखि १० सम्म साविक नलाङ गाविसको सिद्धेश्वर माविमा अध्यायन गरेका नरेश विद्यालयको मेधावी छात्र थिए । सामान्य किसान परिवारमा जन्मिएका उनि विद्यालयमा हरेक कक्षामा बोर्ड फस्ट हुन्थे । साथै अतिरिक्त क्रियाकलापमा पनि सधै प्रथम नै हुन्थे ।
बागेश्वरी मावि रिचोकटारले नरेशलाई छात्रवृत्ति प्रदानगरि कक्षा ११ र १२ मा विज्ञान संकाय पढ्ने प्रबन्ध मिलाइएको थियो । २०७६ को विज्ञान संकायमा कक्षा ११ को बोर्ड परीक्षामा धादिङ जिल्ला प्रथम तथा बागमती प्रदेशमा नरेश दोस्रो बनेका थिए । यो नतिजाले नै टुकी बत्तीबाट पढाई सुरुगरेका नरेशको भविश्य उज्वल देखाएको थियो गरिवको भग्य एक दिन चम्कन्छ भने झैं पारिवारिक अवस्था आर्थिक रुपले कमजोर भएपनि नरेशको सपना साकार पार्न भग्यले पनि साथ दिएको छ अब यो काम्दी गाउँको छोरो नरेश डाक्टर बन्ने भयो स्थानीयहरु खुसी व्यक्त गर्दछन् ।
कक्षा ११ र १२ मा विज्ञान संकाय अन्तर्गत ३.७३ जीपीए ल्याएर बागेश्वरी मावि रोचोकटारबाट उत्तीर्ण गरेका नरेशको मनमा डाक्टर पढ्ने सपना थियो । कक्षा १२ को नतिजा प्रकाशित भएसँगै उनले घरमै बसेर अनलाइन मार्फत एमबीबीएसको तयारीमा लागेका उनी श्रावण ९ गतेको प्रवेश परीक्षा सहभागी हुन काठमाडौको मनमोहन अस्पतालमा पिसिआर जाँच गरे । जसमा उनको रिपोर्ट पोजेटिभ आयो । उनलाई विश्वास नलागेको कारण पून स्टार अस्पतालमा पिसिआर जाँच गरे त्यसमा पनि पोजेटिभ रिपोर्ट अस्पतालले दिएपछि उनी मानसिक रूपमा कमजोर थिए ।

कोरोना पोजेटिभका कारण मानसिक रूपमा कमजोर बनेका नरेशलाई काठमाडौमा रहेर पनि नरेशका परिवारलाई असाध्यै माया गर्ने दिपेन्द्र घिमिरे सरले सान्त्वना र ढाडस दिनुभएको थियो । कोरोना पोजेटिभ भएकै बेलामा परीक्षामा सहभागी भएका उनले एमबीबीएस डाक्टर पढ्ने सपना साकार बनाएका छन ।
नरेशले डाक्टर पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेको खबरले गाउँमा खुसियाली छायो । नजिकका आफन्त र काका काकी आएर नरेशलाई अबिर, खादा लगाएर आशिर्वाद एवम् उज्ज्वल भविष्यको शुभकामना दिएका थिए । निम्नवर्गीय परिवारमा जन्मिएर सधै सरकारी विद्यालय पढेर अहिले एमबीबीएस डाक्टर पढ्न सरकारी छात्रवृत्तिमा नाम निकाल्न सफल भइ गण्डकी मेडिकल कलेज पोखरा सिफारिस भएका नरेशका २ दाजु, १ दिदी र आमाबुबा हुनुहुन्छ ।
आमाबुबाले अहिले पनि ज्याला मजदुरी गरेर घर चलाउदै आउनु भएको छ । सधैं सरकारी विद्यालयमा पढेर, गरिबीको सामना गर्दै आएका उनले एमबीबीएस डाक्टर पढ्न पूर्ण सरकारी छात्रवृत्तिमा नाम निकालेसँगै उनी लाखौं विद्यार्थीको प्रेरणाको स्रोत बनेका छन । जिल्ला कै गहना बनेका नरेशको आगामी भविष्य थप उज्ज्वल बनोस् । हाम्रो पनि बधाई तथा शुभकामना ।
