दाहाल–नेपाल समुहले समीकरण तलसम्मै पुर्याउने

Avatar photo
Dhadingpost
मंसिर २६, २०७७

काठमाडौं मंसिर २६ । सत्तारूढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो समीकरणलाई तल्लो तहसम्मै लैजाने तयारी गरेका छन्। अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तरसंघर्ष चर्किएपछि दाहाल र नेपालले आफ्ना कुरा सातै प्रदेशसम्म लैजान थालेका हुन्।

उनीहरूले जिल्ला संगठन समितिका सचिवसम्मलाई भेला गराई प्रशिक्षण अभियान चलाउने निष्कर्ष निकालेका छन्। त्यही क्रममा बिहीबार काठमाडौंमा उनीहरूले वाग्मती प्रदेशअन्तर्गत १३ जिल्लाका आफूनिकट इन्चार्ज, अध्यक्ष र सचिवसम्मको भेला गरेका छन् । पेरिसडाँडा कोटेश्वरस्थित जनवर्गीय संगठनहरूको सम्र्पक कार्यालयमा भएको भेलामा करिब ५० जना जिल्ला नेता सहभागी थिए। दाहाल र नेपालले झन्डै चार घण्टा पार्टीको विवाद, दुवै अध्यक्षका प्रस्ताव, अबको रणनीतिलगायत विषयमा प्रशिक्षण दिएका थिए। उनीहरूले प्रधानमन्त्री ओलीसँग कुनै पनि प्रकारको सम्झौता नगरिने, अहिलेको अन्तरसंघर्ष वैचारिक राजनीतिक भएको भन्दै यसलाई तल्लो तहसम्मै छलफलमा लैजाने बताएका थिए ।

‘अहिले हामीबीच समीकरण होइन, विचार समूह निर्माण भएको छ । यसलाई सुदृढ गरेर अगाडि बढौं। देशव्यापी रूपमा ग्राउन्डसम्म यो समूहको बहुमत छ । उताको (प्रधानमन्त्री) त्यो छैन। धम्काउने मात्र छ,’ नेपालले भने, ‘पहिले हामीले तलैसम्म वैचारिक बहस चलाएनौं । उहाँहरूले जस्तो तलसम्म आफ्नो कुरा लिएर गएनौं । तर, उहाँहरूले तलसम्मै लैजाने काम गर्नु भएको छ । हामी भर्खर सुरुआत गर्न खोज्दैछौं, अब जानुपर्छ भन्ने लागेर। अब तलसम्म जानुपर्छ ।’ अन्नपूर्णपोष्टमा खवर छ ।

x