नयाँ समीकरणको प्रयासमा ओली

Avatar photo
Dhadingpost
कार्तिक २७, २०७७

काठमाडौं कार्तिक २७ । आफूमाथि बहुमत सदस्यको दबाबपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले पार्टीभित्र नयाँ समीकरणको कोसिस पनि जारी राखेका छन् । यसका लागि ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग यसै महिना मात्रै तीनपटक संवाद गरिसकेका छन् । तर, हरेक भेटमा जस्तै नेपालले व्यक्तिवाद त्यागेपछि मात्रै सहमति र एकताको विकल्प खुल्ने बताएका छन् ।

पछिल्लोपटक प्रधानमन्त्री ओलीले २३ कात्तिकमा वरिष्ठ नेता नेपालसँग गरेको भेटमा अबको महाधिवेशनबाट पार्टी अध्यक्ष वा चुनावबाट प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए । ‘मैले तपाईंलाई पार्टी अध्यक्ष बन्ने हो भने महाधिवेशन पर्खिनुस्, कि चुनावपछि प्रधानमन्त्री बन्नुस् पहिल्यैदेखि भन्दै आएको छु,’ नेपाललाई प्रधानमन्त्री ओलीको प्रस्ताव थियो, ‘अहिलेलाई मिलेर एकताका साथ अघि बढौँ, पार्टीभित्र देखिएका चुनौती सम्बोधन गर्दै अघि बढौँ ।’

त्यसअगाडि ११ कात्तिकमा ओलीले अब नेकपालाई तपाईंले नेतृत्व गर्ने हो भन्दै पार्टी र सरकार सञ्चालनमा सहयोग गर्न नेपाललाई प्रस्ताव गरेका थिए । ‘मुलुकको अवस्था, सरकार र पार्टी सञ्चालनमा सहयोग गर्नुप¥यो, अब नेकपालाई तपाईंले नै नेतृत्व गर्ने हो भन्नेबाहेक कमीकमजोरी महसुस गर्दै सच्चिएर अघि बढ्ने र पार्टीलाई एकताबद्ध बनाउने कुनै ठोस प्रस्ताव आएको थिएन,’ नेपालनिकट नेताहरूले भनेका थिए ।

त्यसअगाडि ४ कात्तिकमा ओलीले प्रचण्डसँग हिमचिम बढाएर खुमलटार धेरै जाने गरेको भन्दै गुनासो पोखेर नेपालसँग सहकार्यको प्रस्ताव गरेका थिए । ‘लामो समय भइसक्यो तपाईंसँग भेटघाट हुन सकेन, तपाईंले पनि सम्पर्क गर्नुहुन्न, त्यसैले कुराकानी गरौँ, कतै कमजोरी छन् भने सच्याउने गरी अघि बढौँ भन्ने उद्देश्यले छलफल गर्न खोजेको हुँ, छलफलबाट पार्टीमा समस्या छन् भने पनि हल गरौँ, संवादलाई निरन्तरता दिँदै अघि बढौँ,’ ओलीको प्रस्ताव थियो ।

नेकपाको समीकरणमा शक्ति सन्तुलनको हिसाबले निर्णायक ‘पोजिसन’मा रहेका नेपाललाई प्रधानमन्त्री ओलीले सहकार्यको प्रस्ताव अगाडि सारेका हुन् । स्थायी कमिटीको निर्णय कार्यान्वयनलाई लिएर अहिले भने नेकपामा प्रचण्ड–नेपाल समीकरण छ । यसबाहेक प्रधानमन्त्रीको राजनीतिक ‘मुभ’लाई सहयोग पुग्ने गरी राष्ट्रपति कार्यालयको पनि सक्रियता बढेको छ ।

यसबीचमा राष्ट्रपति विद्या भण्डारीले नेकपा उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्य रामबहादुर थापालगायतका नेताहरूसँग भेट गरेकी छिन् । ‘भेटमा राष्ट्रपतिज्यूले पार्टी एकताप्रति चिन्ता जनाउँदै पार्टी एकता नटुटोस्, एकता जोगाउन तपाईंले पहिले पनि भूमिका खेल्नुभो, अब पनि तपाईंबाट त्यस्तै भूमिकाको अपेक्षा छ भन्ने सुझाब दिनुभएको छ,’ गौतमलाई उद्धृत गर्दै उनका प्रेस संयोजक विश्वमणि सुवेदीले भनेका थिए, ‘म पार्टी एकता जोगाउनै लागिरहेको छु । प्रचण्ड, माधव, झलनाथ कमरेड हामी सबै एकता जोगाउने, विधि र पद्धति स्थापित गर्ने कुरामै लागेका छौँ ।’ नयाँ पत्रिकामा खवर छ ।

x