मन्त्रालय खोसियो, ईश्वरलाई उपेक्षा, विष्णुलाई वरदान

Avatar photo
Dhadingpost
अशोज २९, २०७७

काठमाडौं असोज २९ । मन्त्रिपरिषद् हेरफेरमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मात्रै जिम्मेवारी दिइएको छ । रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओली आफैँले राखेका छन् ।

भारतीय सेनापतिको नेपाल भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय आफैँले लिएका छन् । भारतीय सेनापति मनोज मुकुन्द नरवाणे १८ कात्तिकमा नेपाल आउँदै छन् ।

पोखरेलको नेतृत्वप्रति प्रधानसेनापतिको असन्तुष्टि, कोभिड नियन्त्रण तथा रोकथामको कार्यसम्पादनमा कमजोर भूमिका, अर्को चरणमा मन्त्रिपरिषद् पुनर्गठन गर्दा पार्टीभित्र मिलाउनुपर्ने शक्तिसन्तुलनलगायतलाई ध्यान दिँदै उनको जिम्मेवारी हेरफेर भएको हो ।

अढाई वर्षअघि महासचिवको रूपमा ईश्वर पोखरेल पछि परे, अहिले रक्षा मन्त्रालय खोसियो । पार्टी र सरकारमा ईश्वर उपेक्षित हुँदा विष्णु पौडेल भने दुवैतिर शक्तिशाली भएका छन् । ओम्नीदेखि सम्धीसम्मका काण्डले ईश्वर आफैँ पनि कमजोर भएका थिए ।

सरकारमा सामेल हुने क्रममा अर्थ मन्त्रालयको नेतृत्वमा रुचि राखेका पोखरेललाई ओलीले सुरुमै आफूमातहत रहने गरी प्रधानमन्त्री कार्यालय हेर्ने जिम्मेवारी दिन खोजेका थिए । तर, त्यसप्रति रुचि नराखेपछि उनलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

प्रधानमन्त्रीको सचिवालयले पनि सुरुदेखि नै उनलाई प्रधानमन्त्री कार्यालयमातहत जिम्मेवारी दिने योजना लामो समयपछि कार्यान्वयन भएको पुष्टि गरेको छ । ‘प्रधानमन्त्रीले पहिल्यैदेखि प्रधानमन्त्री कार्यालयको कामलाई व्यवस्थित गर्न खोज्नुभएको थियो ।

त्यही सन्दर्भमा कामलाई व्यवस्थापन गर्न जिम्मेवारी दिनुभएको हो, त्यसैले यसलाई खोसुवा वा घटुवाको अर्थमा बुझ्नु अन्यथा हुन्छ,’ प्रधानमन्त्रीका सचिवालयका एक सदस्यले भने । नयाँ पत्रिकामा खवर छ ।

x