गल्छीमा रहेको द राइजिङ भिलेज स्कुलमा तोडफोड सँगै चोरी

Avatar photo
Dhadingpost
असार १२, २०७७

धादिङ, गल्छी, असार १२ । धादिङको गल्छी गाउँपालिका स्थित गल्छी बैरेनीमा रहेको द राइजिङ्ग भिलेज अंग्रेजी स्कुलमा बिहिबार राती तोडफोड सँगै महत्वपूर्ण सामग्रीहरु चोरी भएको छ ।

पाँचवटा ताल्चा फुटाएर लेखा शाखा, प्रधानाध्यापक शाखा, प्रशासन शाखा, स्टोर शाखा टोडफोड सँगै महत्वपूर्ण उपकरणहरु चोरी भएको प्रधानाध्यापक नवराज ओझाले धादिङपोष्टलाई बताए ।

६ वटा दराज फुटेको छ, ४ वटा टेवल भाँचीएको छ, लेखा शाखा र प्रशासन शाखामा भएका कागजातहरु यत्रतत्र छरिएको अवस्थामा शुक्रबार बिहान ९ बजे मात्र थाहा भएको प्रअ ओझा बताउँछन् ।

चोरहरुले ४५ हजार मुल्यको क्यामरा, ६५ हजारको प्रोजेक्टर, ७५ हजार मुल्य पर्ने १ वटा ल्यापटप र एउटा भित्ते घढी चोरेको प्रअ ओझाले हामीलाई बताए ।

उक्त घटनाको भत्सर्ना गर्दै निजी तथा आवासीय विद्यालय सङ्गठन -प्याब्सन धादिङले विज्ञप्ती प्रकाशित गरि तोडफोड र चोरी गर्नेलाई तत्काल पक्राउ गरी कानुनी कार्वाही गर्न माग गरेको छ ।

प्याब्सन अध्यक्ष गोविन्द बुढाथोकीको हस्ताक्षर रहेको उक्त विज्ञप्तीमा भनिएको छ, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन केन्द्रिय कार्य समितिका सचिवालय सदस्य एवम् प्याब्सन जिल्ला कार्य समिति धादिङका बरिष्ठ सल्लाहकारको विद्यालय द राइजिङ भिलेज आवासीय माध्यमिक विद्यालय बैरेनी बजार गल्छीमा मिति २०७७ असार ११ गते राती अज्ञात ब्यक्तिहरुले विद्यालयको प्रशासन कक्ष, स्टोर शाखा र लेखा शाखामा तोड फोड गरी ६ वटा दराज र ४ थान टेवल तोडफोड गरी ल्यापटप, प्रोजेक्टर र क्यामरा जस्ता महत्वपूर्ण सामाग्रीहरु लगेको साथै विद्यालयको भौतिक सामाग्रीहरुमा क्षति पुर्याएको घटनाको प्याब्सन धादिङ घोर भर्त्सना गर्दछ ।

विद्यालय र बालबालिका शान्ति क्षेत्र हुन्। बालबालिकाहरुले निर्वाद र भय रहित वातावरणमा विद्यालयमा शिक्षा आर्जन गर्न पाउनु पर्दछ । विद्यालयमा हुने यस प्रकृतिको भौतिक तथा अभौतिक सम्पत्तीमाथीको आक्रमणले विद्यार्थीहरु र विद्यालय परिवारलाई सुरक्षित एवम् निर्धक्क रुपमा पठनपाठन गर्ने गराउने वातावरणमा व्यावधान सिर्जना गर्दछ । निजी विद्यालयहरुको छाता सङ्गठन प्याब्सन धादिङ विद्यालय र शिक्षा क्षेत्रमाथी हुने यस प्रकृतिका अमानवीय र उच्छ्रिङ्खल गतिविधिको निन्दा गर्दै विद्यालय सञ्चालन र पठनपाठनका कृयाकलाप उत्साहजनक र भयरहीत रुपमा सञ्चालन हुने वातावरण सुनिश्चित गर्न सम्बद्ध सबै पक्षसँग माग गर्दछ । साथै उक्त घटनाको सत्यतथ्य अनुसन्धान गरि दोषीमाथी तत्काल कानुनी कारवाही गर्न नेपाल सरकारसँग प्याब्सन धादिङ जोडदार माग गर्दछ ।