
धादिङ बैशाख १२ । लकडाउनका कारण काठमाडौमा रोकिएका २ हजार भन्दा बढी मानिसहरु बुधबार र विहिबार राति ५० वटा बसमा धादिङ फर्किएका छन् । सबै बसहरु साँझ ६ देखि ७ बजे सम्ममा माछापोखरीबाट छुटेका थिए ।
बिहिबार मात्र नेपाली काँग्रेस धादिङका सभापति रमेश धमला आफै जिल्ला प्रशासनबाट मण्डली यातायात प्रा.लि. का लागि बसको पास लिएर काठमाडौ बसपार्क पुगेका थिए । उनले १४ वटा बसहरुमा २२० जना धादिङबासीहरुलाई नि:शुल्क रुपमा धादिङका विभिन्न गाउँपालिका पठाएका थिए ।
यस्तै ग्रामिण यातायात प्रा.लि. ले पनि काठमाडौंबाट अफ्ठ्यारोमा परेका ६ वटा बसमा १८० जना मानिसहरुलाई नि:शुल्क रुपमा धादिङ विभिन्न गाउँपालिकामा ल्याएको छ ।
रमेश धमलाको पहलमा यात्रु बोकेर धादिङ आएका मण्डली यातायात प्रा.लि. का १४ वटा बस र ग्रामिण यातायात प्रा.लि. को ६ वटा बसमा यात्रा गर्ने यात्रुहरु कसैले पनि भाडा तिर्नु परेन भने, बिहिबार नै ग्रामिण यातायात सहकारीबाट धादिङ फर्किएका बसले भने यात्रु सँग भाडा लिएका थिए ।
धादिङका प्रदेश सांसद जगत सिंखडाको पहलमा बुधबार राती १४ र बिहिबार राती १६ वटा गरी ३० वटा ग्रामिण यातायात सहकारीको बसले काठमाडौबाट धादिङका विभिन्न गाउँपालिकाका मानिसहरु ल्याएको थियो ।
विपदमा अन्य यातायातले मानवियता देखाए, लकडाउको मर्कामा परेर काठमाडौंबाट धादिङ सम्म नि:शुुल्क ल्याए तर ग्रामिण यातायात सहकारीबाट चलेका केहि बसले गाउँपालिकाले भुक्तिनी दिने भने पछि यात्रु सँग भाडा लिएका थिएनन् भने अन्य अधिकाँश भाडा लिएका थिए ।
पास भएका बसहरुले शुक्रबार पनि काठमाडौमा छुटेका मानिस लिन जाने तयारी गरिएको मण्डली यातायातका प्रवन्धक राजेश प्रजापतिले धादिङपोष्टलाई बताए ।
लकडाउनका कारण काठमाडौमा रोकिएका मानिसहरु धादिङ आउन पाए सँगै पोखरामा रहेका धादिङबासीले समेत धादिङ फर्काउन पहल गरिदिन माग गरेका छन् ।

