धादिङ कांग्रेसको अधिवेशनः २ हजार ९४४ क्षेत्रीय प्रतिनिधि चयन हुने

Avatar photo
Dhadingpost
अशोज ४, २०८३

धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रयोजनका लागि धादिङ जिल्लामा वडा तहदेखि क्षेत्रीय अधिवेशनसम्मको कार्यतालिका सार्वजनिक गरिएको छ । कार्यतालिकाअनुसार जिल्लाका १०४ वटै वडामा अधिवेशनमार्फत क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् ।

निर्णयअनुसार वडा अधिवेशन असोज ५ गते, गाउँपालिका तथा नगरपालिका अधिवेशन असोज ७ गतेप्रदेश सभा क्षेत्रीय तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १० गते हुने भएको छ ।

धादिङमा रहेका १०४ वटा वडाबाट कुल २ हजार ८४० जना क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । यसमा प्रत्येक वडाका वडा सभापति पदेन क्षेत्रीय प्रतिनिधिका रूपमा रहने भएकाले जिल्लाभर कुल २ हजार ९४४ जना क्षेत्रीय प्रतिनिधि हुनेछन् ।

प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तर्गत धादिङका ५३ वटा वडाबाट १ हजार २४६ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । ५३ जना वडा सभापति पदेन प्रतिनिधिसहित यस क्षेत्रमा कुल १ हजार २९९ जना क्षेत्रीय प्रतिनिधि हुनेछन् ।

त्यस्तै, प्रतिनिधि सभा क्षेत्र नं. २ अन्तर्गत ५१ वटा वडाबाट १ हजार ५९४ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । ५१ जना वडा सभापति पदेन प्रतिनिधिसहित यस क्षेत्रमा कुल १ हजार ६४५ जना क्षेत्रीय प्रतिनिधि हुनेछन् ।

यसरी प्रतिनिधि सभा क्षेत्र नं. १ र २ गरी धादिङ जिल्लाबाट नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कुल २ हजार ९४४ जना क्षेत्रीय प्रतिनिधि सहभागी हुनेछन् ।

वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिले त्यसपछिका पालिका, प्रदेश सभा क्षेत्रीय तथा प्रतिनिधि सभा क्षेत्रीय तहका अधिवेशनमा सहभागिता जनाउनेछन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङमा हुने अधिवेशनले आगामी नेतृत्व चयनका लागि वडा तहदेखि प्रतिनिधि छनोटको प्रक्रिया अघि बढाउनेछ ।