नीलकण्ठ नगरपालिकाको कविता वाचन प्रतियोगिता असोज ९ गते

Avatar photo
Dhadingpost
अशोज ५, २०८३

धादिङबेसी । राष्ट्रिय बाल दिवस–२०८३ को अवसरमा नीलकण्ठ नगरपालिकाको आयोजनामा नगरस्तरीय कविता वाचन प्रतियोगिता हुने भएको छ। यसअघि भदौ २५ गतेका लागि तय गरिएको प्रतियोगिता विविध कारणले स्थगित भएपछि आगामी असोज ९ गते बिहान १० बजे सिटी हल, धादिङबेसीमा सञ्चालन गरिने भएको हो ।

नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलद्वारा जारी सूचनाअनुसार प्रतियोगितामा नीलकण्ठ नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत कक्षा ९ देखि १२ सम्मका विद्यार्थी सहभागी हुन सक्नेछन् ।

प्रतियोगिताका लागि कविता ‘बालमैत्री स्थानीय शासन’ विषयमा केन्द्रित हुनुपर्नेछ । कवितामा कुनै व्यक्ति, लिङ्ग, जाति, धर्म वा सम्प्रदायमाथि आक्षेप लगाउन नपाइने नगरपालिकाले जनाएको छ ।

कविता अधिकतम १८० शब्दभित्र पद्य, गद्य वा गीति लयमा लेखिएको हुनुपर्नेछ । छन्दबद्ध कविता भएमा छन्दको नामसमेत खुलाउनुपर्नेछ ।

प्रतियोगितामा सहभागी हुने कविता नितान्त मौलिक र अप्रकाशित हुनुपर्नेछ। कतैबाट साभार गरिएको वा एआई (AI) बाट निर्माण गरिएको कविता भेटिएमा प्रतियोगिताबाट स्वतः बाहिरिने सूचनामा उल्लेख छ ।

कविता शुद्ध नेपाली भाषामा हातले लेखेर वा प्रिति फन्टमा टाइप गरी विद्यालयको आधिकारिक छाप, प्रधानाध्यापकको हस्ताक्षर, विद्यार्थीको नाम र कक्षा उल्लेख गरेर असोज ७ गते दिउँसो ४ बजेभित्र बुझाउनुपर्नेछ । कविता soc.neelakanthamun@gmail.com मा इमेल वा ९८४१०६३१८०/९८४३१४५३९५ नम्बरमा ह्वाट्सएपमार्फत पठाउन सकिनेछ ।

प्रतियोगितामा शीर्षक र विषयवस्तुका लागि ३० प्रतिशत, केन्द्रीय कथ्य/भाव विचारका लागि २० प्रतिशत, लयविधान र कथनपद्धतिका लागि १५ प्रतिशत तथा भाषा शैली एवं अलङ्कारिकताका लागि १५ प्रतिशत अङ्क निर्धारण गरिएको छ ।

त्यस्तै, कविता वाचन प्रस्तुतितर्फ अभिनय/हाउभाउ ५, धारावाहिकता १० र स्पष्टता ५ गरी २० प्रतिशत अङ्क छुट्याइएको छ ।