
धादिङ बैशाख ११ । कोरोना भाइरस कोभिड १९ को संभावित महामारी रोक्न सरकारले गरेको लकडाउनका कारण काठमाडौमा रोकिएका ६ सय भन्दा बढी व्यक्तिहरु प्रदेश सांसद जगत सिंखडाको पहलमा धादिङ फर्किएका छन् ।
दैनिक ज्यालादारी मजदुर देखि विभिन्न कामको शिलशीलामा काठमाडौ पुगेका उनीहरु लकडाउनका कारण अवस्था नाजुक बन्दै गएपछि सांसद सिंखडाले १४ वटा गाडीमा बन्दोवस्त गरि धादिङ पठाएका हुन् ।

उद्दारका लागि धादिङबाट काठमाडौंको माछापोखरी स्थित बसपार्कमै पुगेका सांसद सिंखडाले भने ‘१४ वटा गाडीमा ६ सय भन्दा बढी मानिसहरु बुधबार धादिङको उत्तरी क्षेत्र हिँडेका छन्,’ काठमाडौमा रोकिएका अन्यलाई पनि प्रशासनसँगको समन्वयमा पठाउने तयारीमा छौं ।’
जिल्ला प्रशासन कार्यालय धादिङले पनि गाउँ फर्कन चाहनेको लागि ग्रामिण यातयातका बसहरुमा सवारी पासको व्यवस्था गरी सञ्चालन गर्ने अनुमति दिएको छ ।

