लकडाउन पछि यसरी हुनेछ एसईई परीक्षा

Avatar photo
Dhadingpost
चैत्र २२, २०७६

काठमाडौं चैत्र २२ । लकडाउन पूर्णरूपमा खुलेको कम्तिमा दुई सातापछि मात्रै माध्यमिक शिक्षा परीक्षा (एसईर्हु) हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले लकडाउन पूर्णरुपमा खुलेर जनजीवन पूर्ववत अवस्थामा फर्केपछि मात्र परीक्षा गरिने जानकारी दिएको छ ।

बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले विना कुनै शर्त लकडाउन खुलेपछि एसईईको नयाँ परीक्षा तालिकाका बारेमा जानकारी दिइने बताए । विद्यार्थीलाई दुई साताको समय दिएर मात्रै परीक्षा गरिने उनको भनाइ छ ।

एउटा परीक्षा केन्द्रमा तीन सय जनासम्म विद्यार्थी परीक्षामा सहभागी हुने भएकाले भयरहित तरिकाले परीक्षा सञ्चालनका लागि जनजीवन सामान्य अवस्थामा आउनुपर्ने उनको भनाइ छ । अहिलको अवस्थामा भने कहिले परीक्षा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा केही भन्न नसकिने उनले बताए । आजको गोरखापत्रमा खबर छ ।