नागढुंगा सुरुङमार्गको शिलान्यास गरियो

Avatar photo
Dhadingpost
कार्तिक ४, २०७६

धादिङ कार्तिक ४ । नागढुंगा-सिस्नेखोला सुरुङमार्गको शिलान्यास गर्दै प्रधान मन्त्री केपी शर्मा ओलीलले पूर्वाधार विकासमा नयाँ प्रविधिका साथ अर्को एउटा फड्को मारेको बताएका छन् ।

सुरुङमार्गको शिलान्यास गर्दै प्रधान मन्त्री ओलीले नागढुंगा जाम हुँदैन, निर्धारित समयभित्रै यो सुरुङमार्ग बन्छ, मुलुकले पूर्वाधार विकासमा नयाँ प्रविधि सहित फड्को मारेको बताएका हुन् ।

नौबीसे देखि थानकोटसम्मको सडकखण्ड घुमाउरो र उकालो ओरालो भएका कारण यो क्षेत्रमा ट्राफिक जाम हुने गरेको छ । यस्तो ट्राफिक जाम न्युनिकरण गर्ने उद्देश्यले सरकारले यो सुरुङ बनाउन लागेको हो ।

जापान सरकारको ऋण १६।६ अर्ब र नेपाल सरकारको ५।५३ अर्ब रुपैयाँ खर्च हुने यो आयोजना ०।०१ प्रतिशत व्याजदरमा जापानले ४० वर्षका लागि ऋण उपलब्ध भएको हो ।

काम थालेको साढे ३ वर्ष अर्थात् ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । करबाहेक साढे १३ अर्बमा आयोजना ठेक्का लागेको छ । यो सुरुङमार्गलाई त्रिभुवन राजपथसँग जोड्न २।८७ किलोमिटर ९२ हजार ८ सय ७२० को पहुँचमार्ग पनि बनाइँदैछ ।

सुरुङसम्म पहुँचमार्गका लागि गुर्जुधाराचोक र सुरुङको मुखभन्दा मुनि २ वटा फ्लाइओभर बन्नेछन् । गुर्जुधारामा बन्ने फ्लाइओभर ६१० मिटरको हुने आयोजना प्रमुख खरेलले बताए । कलंकीबाट बलम्बु हुँदै नागढुंगा जोड्ने सडक क्रस गराउन अर्को पनि फ्लाइओभर बनाइनेछ यो करिब १५० मिटरको हुनेछ । यी नेपालकै पहिलो फ्लाइओभर हुनेछन् । २ लेनको यो सुरुङमार्गमा १० मिटर चौडाइको सुरुङमार्गमा भेन्टिलेसन र जेट फ्यान पनि जडान गरिनेछ ।

आकस्मिक समयमा उद्धारका लागि अर्को एक लेन (४ मिटर) को सहायक सुरुङ पनि बन्नेछ । कुनै दुर्घटना भए सहायक सुरुङबाट गएर उद्धारको काम गर्न सकिनेछ । सुरुङमार्गका दुबैतर्फ सडक दस्तुर असुल गर्ने काउन्टर र सुरुङ व्यवस्थापन कार्यालय खोलिनेछ ।