धादिङबेसी स्थित पशुपति जात्रा सम्पन्न

Avatar photo
Dhadingpost
मंसिर २०, २०७५

धादिङबेसी मंसिर २० । धादिङबेसी स्थित पशुपति मन्दिरमा शतविऊ छर्ने मेला (आँशि खोला जात्रा) सम्पन्न भएको छ । पचास वर्ष भन्दा अघि देखि लाग्दै आएको धादिङबेसी स्थित पशुपति मन्दिर परिसरमा यसबर्ष पनि हजारौ भत्तजनहरुले पितृको सम्झनामा सतविज छरेका थिए ।

जिल्ला सदरमुकाम धादिङबेसी झर्नु भन्दा पहिला २०१९ सालका यस क्षेत्रमा पशुपति मिन्दर बनाउन छलफल गरिएको र २०२३ सलामा राजा महेन्द्रले शिवमन्दिर बनाउन अनुमति दिए सँगै नियमित वाला चतुर्दशी मेला लाग्दै आएको मन्दिर परिसरमा बस्दै आएका रामनाथ योगीले धादिङपोष्टलाई बताए ।

नीलकण्ठ नगरपालिकाको सैन्दर्यका रुपमा आन्तरिक तथा वाह्य पर्यटनको रुपमा समेत विकास हुँदै गरेको यस पशुपति मन्दिर परिसर क्षेत्र क्षेत्रमा पहिला वयरघारी र केहि भुभाग खेतको फाँट थियो ।

साङ्कोष, मुरलीभञ्ज्याङ, पाल्पा र साँखुका स्थानियहरुको पहलमा पशुपतिनाथको मन्दिर निर्माण गरियो मन्दिर निर्माणको वर्ष नै गाउँ गाउँबाट फुलको डोली ल्याउने र मृतक आफन्तको नामामा सतविज छर्ने चलन बसेको योगि बताउँछन् ।

मसिंर कृष्ण चर्तुदशीको यस विशेष दिन नै वाला चतुर्दशी हो र आजको दिन मृत्यूवरण गरेका पितृहरुको मोक्षयात्राका लागि अत्यन्त महत्पूर्ण दिनका रुपमा लिइन्छ ।

सतविज भन्नाले पितृ उद्दारसंग सम्बन्धित चर्चित धार्मिक वनहरु जस्तैः कैलाश डाँडा, श्लेष्मान्तक वन अनि अन्य आस्था गाँसिएका वनहरुमा गएर छर्ने सातप्रकारको अन्नहरु पर्दछन् । यस्ता अन्नहरुमा धान, गहुँ, मास, मुगी, कागुन र सामा मिलाईएको सप्तधाना यूक्त सतविज र विभिन्न प्रकारका फूलहरु रहने गर्दछ । (फाइल फोटो)