
धादिङ मंसिर १० । धादिङमा कानुनी मापदण्ड नपुगेर विगत ५ महिना देखि बन्द भएका गिट्टी उत्पादन गर्ने क्रसर उद्योगहरुले संचालन अनुमति पाएका छन् ।
जिल्ला समन्वय समितिले ३ धादिङले उद्योगहरुलाई पत्राचार गर्दै संकलन भएका कच्चा पदार्थ ३ महिनामा कुटानीतथा बिक्री–वितरण गरी गरि सक्न र त्यस पछि मापदण्ड अनुसार मात्रै सञ्चालन गर्न अस्थायी सञ्चालन अनुमति दिएको हो ।
‘हामी प्रदेश सरकारबाट लागू गरिएको ‘नदीजन्य पदार्थ (संकलन तथा उपयोग) सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधि’ लाई अक्षरशः पालना गर्न र गराउन प्रतिबद्ध छौं, विगतका जस्तै मापदण्ड मिचेर सञ्चालित क्रसर उद्योग, उपकरण प्रयोग गरी त्रिशूली दोहन गर्न दिने पक्षमा छैंनौं,’ जिल्ला समन्वय समितिका संयोजक जगन्नाथ नेपालले बताए ।
जिल्लाका बालुवा तथा क्रसर उद्योगहरूका लागि मात्रै १२ सय एक्साभेटर र डोजर, ६ सय ट्याक्टर, १५ सय टिपरहरू सञ्चालनमा छन् । क्रसर उद्योगहरू सञ्चालनमा नआए राजमार्गका एक दर्जन डिजल पम्पहरू समेत ठप्प हुने र स्थानीय बजारमा आर्थिक कारोबार शून्य हुने कार्कीको दाबी छ ।
त्रिशूली नदी, आग्रा खोला, मलेखु खोलाको कच्चा पदार्थ प्रयोग गर्ने गरी वर्षादेखि राजमार्ग छेउमै सञ्चालनमा आएका बालुवा र क्रसर उद्योगहरू सधैं मापदण्डकै विवादमा सञ्चालनमा छन् । मापदण्ड मिचेर सञ्चालनमा आउने नदीजन्य पदार्थका उद्योगहरूलाई राजस्व छलीको आरोप लाग्ने गरेको छ ।
