प्रकाश मावि सडकको दुर्दशाका कारण नगरस्तरीय प्रतियोगितामा सहभागी नहुने

Avatar photo
Dhadingpost
अशोज २, २०८३

धादिङ । नीलकण्ठ नगरपालिका–१, काउलेस्थित प्रकाश माध्यमिक विद्यालयले सडकको दुरवस्थाका कारण नगरस्तरीय कविता वाचन प्रतियोगितामा विद्यार्थी सहभागी गराउन नसकिने जनाएको छ ।

नीलकण्ठ नगरपालिकाले राष्ट्रिय बाल दिवस–२०८३ को अवसरमा आयोजना गर्न लागेको ‘बालमैत्री स्थानीय शासनसम्बन्धी नगरस्तरीय कविता वाचन प्रतियोगिता’मा विद्यार्थी पठाउन नसकिने भन्दै विद्यालयले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ध्यानाकर्षण पत्र पठाएको हो ।

प्रधानाध्यापक शंकर अधिकारीद्वारा हस्ताक्षरित पत्रमा पालिका केन्द्रबाट करिब १५ किलोमिटर दूरीमा रहेको काउले क्षेत्रको सडक अत्यन्त जोखिमपूर्ण अवस्थामा रहेको उल्लेख गरिएको छ । पैदल यात्रा गर्नसमेत करिब तीन घण्टा लाग्ने तथा यात्रुवाहक सवारी सञ्चालनको अवस्था नरहेको भन्दै सामान ढुवानी गर्ने सवारीसाधनमा विद्यार्थीलाई यात्रा गराउँदा दुर्घटनाको जोखिम हुने विद्यालयले जनाएको छ ।

बालबालिकाको सुरक्षालाई ध्यानमा राखेर प्रतियोगितामा सहभागी गराउन नसकिएको विद्यालयको भनाइ छ । यसअघि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुन जाने क्रममा खराब सडककै कारण शिक्षक तथा विद्यार्थी सवार गाडी दुर्घटनामा परेको समेत विद्यालयले स्मरण गराएको छ ।

विद्यालयले ‘पाँचधारे–काउले सडक’ लामो समयदेखि दयनीय अवस्थामा रहेको भन्दै नगरपालिकाले बर्सेनि ठूलो बजेट विनियोजन गरे पनि उक्त सडकले प्राथमिकता नपाएको गुनासो गरेको छ । सडकको सामान्य मर्मतसमेत नहुँदा स्थानीयवासी तथा विद्यार्थीले जोखिम मोलेर यात्रा गर्नुपरेको विद्यालयको भनाइ छ ।

यसैबीच, नीलकण्ठ नगरपालिकाले प्रतियोगिताको मिति भने असोज ९ गते बिहान १० बजे तोकेको छ । नगरपालिकाको सूचनाअनुसार प्रतियोगिता सिटी हल, धादिङबेँसीमा सञ्चालन हुनेछ ।

प्रतियोगिताका लागि विद्यार्थीले अधिकतम १८० शब्दसम्मको कविता तयार गर्नुपर्नेछ । कविता पद्य, गद्य वा गीतिलयमध्ये जुनसुकै शैलीमा हुन सक्ने तथा छन्दबद्ध भए छन्दको नाम उल्लेख गर्नुपर्ने सूचनामा उल्लेख छ ।

कविता नेपाली भाषामा शुद्धतासहित लेखिएको हुनुपर्नेछ । विद्यालयको आधिकारिक छापसहित प्रधानाध्यापक र सम्बन्धित विद्यार्थीको हस्ताक्षर भएको कविता पठाउनुपर्ने तथा विद्यार्थीको नाम र कक्षा स्पष्ट उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतियोगिताका लागि कविता ‘बालमैत्री स्थानीय शासन’ सम्बन्धी विषयवस्तुमा केन्द्रित हुनुपर्नेछ । कुनै व्यक्ति, लिङ्ग, जाति, धर्म वा सम्प्रदायमाथि आक्षेप लगाउने सामग्री समावेश गर्न नहुने नगरपालिकाले जनाएको छ । कविता मौलिक तथा अप्रकाशित हुनुपर्ने र कतैबाट सारिएको वा एआईबाट निर्मित कविता भए प्रतियोगिताबाट बाहिरिने सूचनामा उल्लेख छ ।

प्रतियोगितामा शीर्षक तथा विषयवस्तु, लयविधान तथा कथनपद्धति, भाषा शैली एवं अलङ्कारिकता, केन्द्रीय कथ्य वा भावविचार र वाचन प्रस्तुतिलाई आधार बनाएर मूल्याङ्कन गरिनेछ ।

विद्यालयले जनप्रतिनिधिबाट पटक–पटक सडक सुधारको आश्वासन पाए पनि समस्या समाधान नभएको उल्लेख गर्दै सडक सुधार नभएसम्म प्रकाश माविका विद्यार्थीहरू नगरस्तरीय यस्ता कार्यक्रममा सहभागी हुन कठिन हुने जनाएको छ ।

सडकको दुरवस्थाका कारण विद्यार्थीलाई शैक्षिक तथा अतिरिक्त क्रियाकलापअन्तर्गतका कार्यक्रमबाट समेत वञ्चित गर्नुपरेको भन्दै विद्यालयले सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।