धादिङ सेवा समाज कतारको आठौँ अधिवेशन असोज १६ गते हुने

Avatar photo
Dhadingpost
अशोज २, २०८३

धादिङ । धादिङ सेवा समाज कतारको आठौँ अधिवेशन आगामी असोज १६ गते अर्थात् अक्टोबर २ मा हुने भएको छ ।

यसअघि सेप्टेम्बर ११ मा अधिवेशन गर्ने भनिए पनि भोटेकोशी बाढीबाट प्रभावितका लागि राहत संकलन तथा त्यससँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने भएकाले अधिवेशनको मिति सारिएको बताइएको छ ।

धादिङ सेवा समाज कतारको २०८१ भदौमा सम्पन्न सातौँ अधिवेशनबाट नेत्रावती डबजोङ गाउँपालिका–कटुञ्जेका आयुष घले अध्यक्षमा चयन भएका थिए । घलेको नेतृत्वमा रहेको वर्तमान कार्यसमितिको कार्यकालपछि हुन लागेको आठौँ अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्वसहित कार्यसमिति चयन गर्नेछ ।

नयाँ कार्यकालका लागि समाजको नेतृत्व तथा कार्यसमिति चयन हुने भएकाले आठौँ अधिवेशनलाई महत्वका साथ हेरिएको छ ।

सन् २००१ मा स्थापना भएको धादिङ सेवा समाज कतारले कतारमा रहेका धादिङवासीलाई संगठित गर्दै सामाजिक सेवा, आपसी सहयोग तथा धादिङसँग सम्बन्धित विभिन्न गतिविधिमा योगदान पुर्‍याउँदै आएको छ ।

गत महिना आएको विनाशकारी बाढीबाट प्रभावित धादिङको गल्छीस्थित बागेश्वरी माध्यमिक विद्यालयलाई पनि धादिङ सेवा समाज कतारले ६७ हजार रुपैयाँ सहयोग गरेको थियो ।

कतारमा रहेका धादिङवासीबीच आपसी एकता, सहयोग र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आएको समाजले आगामी अधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गर्ने तयारी गरेको छ ।