
धादिङबेँसी । धादिङबेसीस्थित नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयमा विज्ञान दिवसको अवसरमा विज्ञान सामग्री प्रदर्शनी प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयमा कक्षा ८, ९ र १० का विद्यार्थीबीच आयोजित प्रतियोगितामा दैनिक जीवन तथा स्थानीय समस्यासँग सम्बन्धित विभिन्न वैज्ञानिक तथा प्रविधिजन्य सामग्री प्रदर्शन गरिएको थियो ।
विद्यार्थीहरूले बाँदर भगाउन प्रयोग गर्न सकिने तोपदेखि नदीमा पानीको बहाव बढेको जानकारी दिने सेन्सरयुक्त उपकरणसम्म निर्माण गरी प्रदर्शन गरेका थिए । त्यस्तै, ग्रिन भिलेज, स्मार्ट सिटी, ग्रिन सिटी, केबुलकार, जेनेरेटर, ग्यास, हाइड्रोलिक उपकरणलगायतका सामग्रीसमेत प्रदर्शनीमा राखिएको विद्यालयले जनाएको छ ।
प्रदर्शनीमा विद्यार्थीहरूले विज्ञान तथा प्रविधिको प्रयोगमार्फत स्थानीय आवश्यकता र समस्यालाई समाधान गर्न सकिने विभिन्न अवधारणा प्रस्तुत गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद रिजालले यस्ता प्रतियोगिता तथा प्रदर्शनीले विद्यार्थीको प्रविधिसम्बन्धी सिर्जनात्मक विकासमा सहयोग पुग्नुका साथै शिक्षण–सिकाइ प्रक्रियामा समेत महत्वपूर्ण उपलब्धि हासिल हुने बताए ।
उनले विद्यार्थीलाई पाठ्यपुस्तकमा सीमित नराखी प्रयोगात्मक तथा सिर्जनात्मक सिकाइतर्फ प्रोत्साहित गर्न यस्ता कार्यक्रम उपयोगी हुने बताए ।
