
धादिङ । नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका कार्यसमितिको सभापति पदका लागि राजकुमार बस्नेत (राज) ले आफ्नो दाबी प्रस्तुत गरेका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा बस्नेतले लामो समयदेखि पार्टी संगठन तथा सामाजिक–राजनीतिक गतिविधिमा सक्रिय रहँदै हासिल गरेको अनुभवका आधारमा गाउँपालिका सभापति पदमा दाबी अघि सारेका हुन् ।
विद्यार्थी जीवनदेखि नै नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरुण दललगायत भ्रातृ संगठनमा आबद्ध भएर राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका बस्नेतले गंगाजमुना कांग्रेसको संगठनलाई एकताबद्ध, सुदृढ र जनमुखी बनाउने विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् ।
बस्नेतले ‘नयाँ पुस्ता, सुनिश्चित प्रतिनिधित्व’ र ‘युवा प्रतिनिधित्व अब नारामा होइन, विधानमै’ भन्ने धारणा अघि सारेका छन् । युवाहरूले बाहिरबाट प्रश्न उठाउने मात्र नभई पार्टीभित्रै नीति निर्माण र निर्णय प्रक्रियामा प्रत्यक्ष सहभागी हुनुपर्ने उनको भनाइ छ ।
वडा, पालिका, क्षेत्र, जिल्ला, प्रदेशदेखि केन्द्रसम्म पार्टीका हरेक तहमा युवाहरूको सुनिश्चित प्रतिनिधित्व हुनुपर्ने धारणा राख्दै उनले नयाँ पुस्ताको सहभागिताले संगठनलाई थप गतिशील बनाउने बताएका छन् ।
धादिङमा कांग्रेसको अधिबेशन तालिका
- वडा अधिवेशन असोज ५ गते,
- गाउँपालिका तथा नगरपालिका अधिवेशन असोज ७ गते
- प्रदेश सभा क्षेत्रीय तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १० गते
अग्रजहरूको अनुभव, युवाको ऊर्जा र नयाँ पुस्ताको अपेक्षालाई समेट्दै गंगाजमुनामा कांग्रेस संगठनलाई थप मजबुत र सशक्त बनाउने बस्नेतको भनाइ छ ।
‘व्यक्तिभन्दा संगठन ठूलो, पदभन्दा जिम्मेवारी ठूलो’ भन्ने मूल मर्मलाई आत्मसात् गर्दै अघि बढेको बताउँदै उनले पार्टीका अग्रज नेता, क्रियाशील सदस्य, युवा तथा शुभेच्छुकसँग साथ, सहयोग, सुझाव र विश्वासको अपेक्षा व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पछिल्लो कार्यतालिकाअनुसार गाउँ–नगरपालिका अधिवेशन असोज ७ गतेका लागि तय गरिएको छ ।
