कार्यकर्ता पक्राउको विरोधमा नेविसंघको १ घण्टा चक्काजाम

Avatar photo
Dhadingpost
कार्तिक २८, २०७५

काठमाडौं, कार्तिक २८ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मंगलबार बिहान १ घण्टा चक्का जाम गरेको छ ।

प्रधानमन्त्रीको तस्वीर बिगारेर फेसबुकमा सेयर गरेको आरोपमा पक्राउ परेका आफ्ना कार्यकर्ता कृष्ण ढकालको रिहाइ माग गर्दै नेविसंघले देशभरका विभिन्न स्थानमा चक्काजाम गरेको हो ।

रुपन्देहीस्थित अनलाइनखबरकर्मी कपिल ज्ञवालीका अनुसार बुटवलका विभिन्न क्याम्पस एकाइहरुले मंगलबार बिहान संयुक्त रुपमा चक्काजाम गरेका छन् ।

चक्काजामका कारण बिहान ९ बजेदेखि १० बजेसम्म विभिन्न स्थानको सवारी आवागमन प्रभावित हुन पुगेको थियो ।

चक्काजामका कारण डडेल्धुराको सवारी आवागमन १ घण्टा प्रभावित बनेको थियो ।

नेविसंघका केन्द्रीय सदस्य लेखनाथ भट्टराईले पक्राउ परेका ढकालको विनाशर्त रिहा नभएसम्म आन्दोलनका कार्यक्रम यथावत रहने जनाए ।

विद्यालय तथा कार्यालय जाने समयमा कम गाडी चल्दा विद्यार्थी, कर्मचारी तथा सर्वसाधारणलाई असुविधा भएको थियो ।

डडेल्धुरामा पनि नेपाल विद्यार्थी संघले पूर्वनिर्धारित कार्यक्रम अनुसार १ घन्टा चक्काजाम गरेको छ ।