निर्मला पन्त हत्याका सय दिनः न्यायको आशा जिवितै

Avatar photo
Dhadingpost
कार्तिक १६, २०७५

dpost nagarpalika कैलाली, कार्तिक १६ । कञ्चनपुरको भीदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार एकसय दिन पूरा भएको छ ।

गत साउन १० गते घरबाट साथीकोमा पढ्न भनेर गएकी निर्मलाको शव भोलिपल्ट उखुबारीमा फेला परेको थियो ।

अनुसन्धानका नाममा प्रहरीले थुप्रै निर्दोष व्यक्तिहरुलाई यातना दिने काम गरेको भन्दै चौतर्फी विरोधहरु पनि भए । तर, अहिलेसम्म प्रहरी वास्तविक अपराधीसम्म पुग्न नसकेको भन्दै आलोचित बनेको छ ।

यस अवधिमा जिल्लाका प्रहरी प्रशासनको नेतृत्व परिवर्तन भयो । विभिन्न छानबिन समितिहरु गठन भए ।

न्यायका लागि भन्दै देशब्यापी आन्दोलनहरु भए । तर, सरकारले अझैसम्म पनि दोषी पत्ता लगाउन नसकेको भन्दै फेरि आन्दोलनहरु सुरु भएका छन् ।

घटनापछि प्रहरीले अनुसन्धानमा लापरवाही गरेको भन्दै छानबिन समितिले प्रतिवेदन बुझाएपछि तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख, प्रहरी उपरीक्षक – एसपी डिल्ली विष्ट र तत्कालीन वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जगदिश भट्ट सेवाबाट बरखास्त भएका छन् ।

न्यायको आशामा सय दिन विताएकी निर्मलाकी आमा दुर्गादेविले छोरीको हत्यारा पत्ता लाग्ने आशै आशमा सयदिन पुग्दा पनि सरकारले अझैसम्म वास्तविक हत्यारा यो हो भनेर भन्न नसकेको प्रति न्यायको आशा मरेर गएको बताइन् । तर पनि झिनो आशा अझै जिवितै रहेको भन्दै सरकारलाई छोरीको हत्यारा पत्ता लगाइदिन आग्रह गरिन् ।

अहिले पनि सीआईबीको टोली अनुसन्धानका लागि भन्दै कञ्चनपुरमै रहेको छ । तर, उसले पनि वास्तविक हत्यारा को हो भन्ने पत्ता लगाउन सकेको छैन ।

समयमा न्याय नपाउनु पनि अन्याय सरह हो भन्दै निर्मलाका आमा बुवाले न्यायको आशा भने मारिसकेका छैनन् ।

निर्मलाका बुवा यज्ञराज पन्तले सरकारले अझैसम्म पनि छोरीको हत्यारा पत्ता लगाउ नसकेकोमा आपत्ति प्रकट गर्दै भने, ‘कि त सक्दैनौं भन्दिनु पर्‍यो, होइन भने छिटो भन्दा छिटो छोरीको हत्यारा पत्ता लगाउनु पर्‍यो ।