काठमाडौ, कार्तिक १६ । पछिल्लो तीन महिनामा मुलुकमा आठ करोड रुपैयाँको तास आयात भएको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८ करोड ६ लाख ५४ हजार रुपैयाँ बराबरको ५१ लाख ९३ हजार ८ सय प्याकेट तास आयात भएको छ।सबैभन्दा धेरै तास असोजमा भित्रिएको छ ।
तास खेल्ने पर्व तिहार नजिकिँदै गर्दा यसको आयात ५२ लाख प्याकेटभन्दा धेरै भएको छ । यो तथ्यांक गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.७६ प्रतिशत धेरै हो।
असोजमा ४ करोड ५४ लाखको आयात भएको तथ्यांक छ ।
नेपालीको दोस्रो ठूलो चाड तिहारमा जुवातास खेल्ने परम्परा छ । तिहारलाई लक्षित गरेर तास भित्रिएको देखिन्छ ।तथ्यांकअनुसार तीन महिनामा आयात भएको ८ करोड साढे ६ लाख रुपैयाँको तासमध्ये असोजमा झन्डै आधा तास आयात भएको देखिन्छ । साउनमा एक करोड ४७ लाख र भदौमा ३ करोड ६ लाख ४८ हजारको तास आयात भएको छ ।
